काठमाडौं । पछिल्लो २४ घन्टामा थप २ सय ९६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमण हुनेको संख्या ९ लाख १३ हजार ५५८ पुगेको छ ।
विभिन्न प्रयोगशालामा ८ हजार ९७२ जनाको स्वाब परीक्षण गराउँदा उक्त संख्यामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। जसमध्ये ७ हजार ७७७ जनाको पीसीआर परीक्षण गर्दा २ सय ७१ र १ हजार १९५ जनाको एन्टिजेन परीक्षण गर्दा २५ जनामा कोरोना पुष्टि भएको छ। नेपालमा हाल ७ हजार ५३९ जना सक्रिय संक्रमित छन्।
यस्तै मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा कोरोनाबाट थप ५ जनाको मृत्यु भएको छ । यो सहित नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार ४ सय ९४ पुगेको छ । आज थप ३ सय ६९ जना संक्रमणमुक्त भएका छन् । निको हुने दर ९७.७ प्रतिशत हो । यो सहित नेपालमा कोरोनाबाट निको हुनेको संख्या ७ लाख ९९ हजार ५४५ पुगेको छ ।
प्रकाशित मितिः २०७८ मंसिर ०३ शुक्रबार
Comments