काठमाडौं । भारतबाट करिब १० लाख डोज कोभिसिल्ड खोप नेपाल आइपुगेको छ । सात महिना अघिनै नेपालले खरिद गरेको उक्त खोप आज काठमाडौं आइपुगेको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० लाख कोभिसिल्ड खोप शनिबार दिउँसो २ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेको हो ।
नेपालले उक्त खोप गत फागुन ५ गते नै खरिद गरेको थियो । तर भारतले आफ्नै मुलुकमा कोरोना महामारी बढेको भन्दै खोप नेपाल पठाएको थिएन । नेपालले सेरमसँग किनेको भेरोसिल्ड खोप प्रतिडोज ४ डलर परेको थियो ।
२० लाख डोज खोप नेपालले किनेकोमा १० लाख डोज यसअघिनै नेपाल ल्याइएको छ । पहिलो डोज कोभिसिल्ड खोप लगाएका नागरिकलाई बाँकी १० लाख डोज खोप नआउँदा समस्या परेको थियो । तर भारतीय सेनाले उपहारमा दिएको १ लाख कोभिसिल्ड खोपसहित कोभ्याक्स सुविधामार्फत आएको ३ लाख ४८ हजार खोपले उक्त समस्या हल भएको थियो ।
त्यस्तैगरी नेपालले अन्य तवरबाट खरिद गरि ल्याएको खोपगरी हालसम्म २४ लाख ४८ हजार डोज कोभिसिल्ड खोप नेपाल भित्र्याइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
प्रकाशित मितिः २०७८ असोज २३ शनिबार
Comments