काठमाडौं । आज असोज ३ अर्थात् संविधान दिवस । वि सं २०७२ असोज ३ गते आजकै दिन संविधान जारी भएको अवसरमा विविध कार्यक्रम गरेर देशभर संविधान दिवस मनाइँदैछ ।
नेपालमा संविधान जारी भएको छ वर्ष पुगेर सात वर्ष लागेको अवसरमा सरकारले संविधान दिवस विभिन्न कार्यक्रमका साथ मनाउन आग्रह गरेको छ ।
नेपाली जनताले आफूले चुनेका प्रतिनिधिमार्फत संविधान प्राप्त गर्ने सात दशक लामो चाहनाले २०७२ असोज ३ गते मूर्तरूप पाएको थियो ।
२०७२ साल असोज ३ गते संविधान सभाबाट संघीयतासहितको ‘नेपालको संविधान’ जारी भएको थियो । त्यही दिनलाई राष्ट्रिय पर्वका रुपमा मानेर हरेक वर्ष संविधान दिवस देशभर हर्षोल्लासपूर्वक मनाउने गरिन्छ ।
संविधान दिवसका अवसरमा संविधान दिवस मूल समारोह समितिले सैनिक मञ्च टुँडिखेलमा विशेष समारोह आयोजना गर्ने भएको छ । दिवसका अवसरमा सैनिक मञ्चमा राष्ट्रपति विद्या भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री लगायत विशिष्ट व्यक्तिहरु उपस्थित हुने कार्यक्रम रहेको छ ।
दिवसलाई राष्ट्रिय पर्वका रुपमा मनाउन सरकारले सार्वजनिक बिदासमेत दिएको छ ।
प्रकाशित मितिः २०७८ असोज ३ आइतबार
Comments