म्याग्दी । पहिरो खस्दा म्याग्दीको सदरमुकाम बेनीबजारमा रहेको कालीपुलमा तीन जना घाइते भएका छन् । घाइते हुनेमा कालीपुलका गोविन्दबहादुर बुढा, रेखा नेपाल र सन्तु पुर्जा रहेका जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।
म्याग्दीसँग सीमा जोडिएको पर्वतको जलजला गाउँपालिका-३ कालीपुल क्षेत्रबाट गएराति खसेको पहिरोले कालीगण्डकी नदीलाई थुन्दा बाढी बस्तीतर्फ पसेको थियो । बाढीले कालीपुलका ६ वटा घरमा क्षति पुगेको छ ।
बाढीका कारण विस्थापित परिवारलाई अहिले कालीपुलमा रहेको कभर्डहलमा स्थानान्तरण गरिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक इन्स्पेक्टर वीरेन्द्रराज गुरुङले जानकारी दिए ।
सडकभन्दा माथिबाट ठूलो ढिस्कोसहितको पहिरो कालीगण्डकी नदीमा खसेको प्रहरी निरीक्षक गुरुङले जानकारी दिए ।
वर्षाकै कारण हिमाली जिल्ला म्याग्दी र हिमालपारिको जिल्ला मुस्ताङलाई जोड्ने राष्ट्रिय राजमार्गसहित जिल्लाका ग्रामीण सडकहरु बन्द भएका छन् । बेनी–जोमसोम सडक खण्डको राहुघाट, गुइँठे, रुप्सेखोला र काभ्रेभीरमा पहिरो खसेर सडक बन्द भएको प्रहरीले जनाएको छ ।
यस्तै पश्चिम म्याग्दी हुँदै जलजला–ढोरपाटन भएर रुकुम जोड्ने बेनी–दरबाङ सडकअन्तर्गत घुमाउने भीर तथा बाङ्गे पहिरो भन्ने ठाउँमा पहिरो खसेर सडक बन्द भएको छ । यस्तै, बेनी–बाग्लुङ खण्डको पनि भसभसे र रानीवनमा पहिरोले सडक बन्द भएको छ ।
प्रकाशित मितिः २०७८ भदौ १४ सोमबार
Comments