काठमाडौं । नेपालमा पहिलो पटक ‘मिडिया अवार्ड’ आयोजना गरिने भएको छ । अघिल्लो वर्ष नेफ्टा फिल्म अवार्ड आयोजना गरेर चर्चामा आएको ड्रिमहाई नेपालले मिडिया क्षेत्रमा उत्कृष्ट काम गर्नेलाई प्रोत्साहन गर्ने उद्देश्यले ‘मिडिया अवार्ड’ आयोजना गर्न लागेको हो ।
मिडियाका विविध स्वरुप र विधालाई समेटेर ‘नेपाल मिडिया अवार्ड–२०७८’ आयोजना गर्न लागिएको ड्रिमहाई नेपालका निर्देशक कमल जिसीले कलाकर्मीलाई बताएका छन् । जिसीका अनुसार यो कार्यक्रम आगामी मंसिर महिनामा आयोजना हुनेछ ।
नेपालमा सञ्चलानमा रहेका रेडियो, टेलिभिजन, युट्युब, प्रिन्ट तथा अनलाइन मिडियाका विविध विधालाई समेटेर यो अवार्ड वितरढा गरिने छ।
‘सेलिब्रेटिङ्ग विथ चेन्ज मेकर्स’ थिममा आयोजना हुन लागेको यो अवार्डले सञ्चारमाध्यमका मुख्य विधाको पहिचान गर्ने र त्यो विधामा उत्कृष्ट काम गरिरहेकाहरूको सूची तयार गरी मनोनयन सार्वजनिक गर्ने जिसीको भनाइ छ ।
मनोनयनमा परेका कार्यक्रम, प्रस्तोता तथा समाचारलाई मिडिया क्षेत्रका विज्ञको निर्णायक टोलीले मूल्यांकन गरी विजेताको घोषणा गरिने आयोजक संस्थाको भनाइ छ । तीन वर्षअघि स्थापना भएको ड्रिम हाई नेपालले यसअघि सांगीतिक समुह नेपथ्यको लाइभ कन्सर्ट, अभिनेता अनमोल केसीको कन्सर्ट तथा नेफ्टा फिल्म अवार्ड जस्ता ठूला समारोहहरु आयोजना गरिसकेको छ ।
प्रकाशित मितिः २०७८ साउन १९ मंगलबार
Comments