काठमाडौं । भारतमा पछिल्लो २४ घण्टामा सबै भन्दा धेरै कोरोना भाइरसका नयाँ सङ्क्रमित थपिएका छन् । बिश्वभर मृत्यु हुनेको सङ्ख्या पनि भारतमै अधिक रहेको छ । भारतमा २४ घण्टाभित्र एक लाख १४ हजार २० जना नयाँ बिरामी भेटिए ।
भारतमा यसअघि दैनिक चार लाखसम्म सङ्क्रमित थपिने गरेका थिए भने एकै दिनमा चार हजारभन्दा बढीको मृत्यु भइरहेको थियो ।
पछिल्लो समय कोरोना नियन्त्रणमा केही हदसम्म सफलता प्राप्त गरिरहे पनि भारतमा दैनिक एक लाखभन्दा बढी नै सङ्क्रमित थपिँदै आएका छन् । दुई हजार पाँच सयभन्दा बढीको मृत्यु एक दिनमा भइरहेको छ ।
भारतमा जम्मा सङ्क्रमित सङ्ख्या दुई करोड ८८ लाख सात हजार आठ सय ५५ पुगेको छ । सङ्क्रमितमध्ये दुई करोड ६९ लाख ७५ हजार पाँच सय १३ जना उपचारपछि निको हुँदै सामान्य जीवनमा फर्किसकेका छन् ।
१४ लाख ८५ हजार पाँच सय ७० जनाको उपचार भइरहेको छ । आठ हजार नौ सय ४४ जनाको अवस्था चिन्ताजनक छ । भारतमा एकै दिन दुई हजार छ सय ७१ जनाको मृत्यु कोरोनाका कारण भएको छ ।
भारतमा हालसम्म मृत्यु हुने सङ्क्रमितको सङ्ख्या तीन लाख ४६ हजार सात सय ७२ पुगेको छ । दैनिक कोरोनाका कारण मानवीय क्षति बेहोर्नेमा भारत विश्वकै पहिलो नम्बरमा छ । सङ्क्रमित सङ्ख्याको हिसाबमा भने भारत कोरोनाका कारण प्रभावित हुनेमध्ये विश्वकै दोस्रो नम्बरमा रहेको मुलुक हो ।
प्रकाशित मितिः २०७८ जेठ २३ आइतबार
Comments