काठमाडौं । आज विश्व वातावरण दिवस मनाँइदै छ । प्रत्येक वर्ष जुन ५ मा संसारभर यो दिवस मनाउने गरिन्छ ।
नेपालमा पनि विभिन्न कार्यक्रमसहित विश्व वातावरण दिवस मनाउने गरिन्छ । यस वर्ष पारिस्थितिकीय प्रणाली पुनःस्थापनका विषयमा केन्द्रित हुँदै नयाँ सोच र सिर्जनाका साथ प्राकृतिक प्रणालीको पुनःस्थापनाका लागि विश्व वातावरण दिवस मनाउन लागिएको छ ।
प्रत्येक वर्ष नारा परिवर्तन गर्दै यो दिवस मनाउने गरिए पनि नाराले सार्थकता पाउन सकेको छैन । वातावरण विनाशका अनेक घटना भइरहेका छन् । यस वर्षको दिवसको नारा ‘पर्यावरणीय पुनर्स्थापना’ भन्ने तयर गरिएको छ ।
१६ जुन, १९७२ मा संयुक्त राष्ट्रसङ्घले विश्व वातावरण सम्मेलनको आयोजना गरेको थियो । उक्त सम्मेलनबाट वातावरण संरक्षणका लागि विश्वभर राजनीतिक र सामाजिक जनचेतना जगाउनुपर्ने अन्तर्राष्ट्रिय ऐक्यबद्धता बनेको हो ।
त्यसैअनुरूप यो दिवसलाई संस्थागत गर्न सम्मेलनको दोश्रो वर्ष अर्थात् ५ जुन १९७३ मा विश्वमा पहिलोपटक विश्व वातावरण दिवसलाई एक अन्तर्राष्ट्रिय दिनका रूपमा अङ्गीकार गरिएको हो । विश्व वातावरण दिवसका रूपमा सन् १९७४ देखि मनाउन थालिएको हो ।
आजको समयमा धन सम्पत्तिमा तुलना हुन थाले पनि मानिसको प्रारम्भिक उपस्थिति प्रकृतिको कृपाले मात्र सम्भव रहेको हो । वातावरण भन्नाले वरिपरि भएका वायुको आवरणलाई मान्न सकिन्छ ।
दैनिक आवश्यकीय वस्तु उपहार दिँदै मानिसलाई जिउने अवसर नै वातावरणले प्रदान गरेको छ । वातावरणबाट पानी, हावा, आकाश लगायतका कुरा प्राप्त गर्न मानिसले पैसा तिर्न पर्दैन् । अर्थात वातावरणले मानिसलाई निःशुल्क र निसर्त बाँच्ने अवस्थाको सिर्जना गरिदिएको छ । वातावरणबिना मानिस मात्रै हैन विश्वका कुनै पनि जीवजन्तुको अस्तित्व सम्भव छैन ।
मानव, जीव–जन्तुदेखि रुख–विरुवा सबै वातावरणमै निर्भर छन् । पछिल्लो समय पर्यावरणीय स्वच्छता लोप हुँदै गइरहँदा विश्वव्यापी चिन्ता थपिएको छ । वातावरण संरक्षण गर्नेभन्दा पनि कृतिम र प्रशोधित जीवन शैलीका कारण पर्यावरणमा ठूलै असर पुगिरहेको छ । मानवीय गतिविधीका कारण पर्यावरणमा असर पुग्दा बेलाबेला वातावरणीय चुनौति र प्राकृतिक विपत्तिको सामना गर्नु परिरहेको छ ।
जीवन र प्रकृतिबीचको सम्बन्ध बुझाउँदै भावी सन्ततीलाई प्रकृति प्रेम सिकाउनु आजको आवश्यकता रहेको विज्ञहरुले औंल्याएका छन् । अहिलेकै जसरी प्रकृतिको विनाश हुँदै जाने हो भने मानिस र अरु जीवजनावरको अस्तित्व सकिने खतरा रहेको चेतावनी विज्ञहरुले दिइरहेका छन् ।
प्रकाशित मितिः २०७८ जेठ २२ शनिबार
Comments