काठमाडौं । आज वैशाख शुक्ल पूर्णिमा अर्थात् बुद्ध जयन्ती, देशभर विविध कार्यक्रम आयोजना गरी २५६५ औं बुद्ध जयन्ती मनाइँदैछ । तम बुद्धको जन्म, बुद्धत्व प्राप्ति र महापरिनिर्वाण प्राप्ति पनि वैशाख शुक्ल पूर्णिमाकै दिन भएकाले यस दिनलाई बौद्ध धर्मावलम्बीले त्रिसंयोग दिवसका रुपमा मनाउँछन् ।
कोरोना भाइरस ९कोभिड–१९० को सङ्क्रमणबाट बच्न जारी निषेधाज्ञाका कारण बौद्ध धर्मावलम्बीले चैत्य, गुम्बा, विहार लगायत स्थलमा सीमित बौद्ध धर्मगुरु मात्र बसेर परम्परादेखि हुँदै आएको पूजालगायत विधि मात्र पूरा गरिने जनाइएको छ ।
गत वर्ष पनि कोरोनाबाट बच्न बन्दाबन्दी जारी गरिएकाले बुद्ध जयन्ती घर घर एवं चैत्य, गुम्बा, बिहारलगायत स्थलमा निश्चित धर्मगुरुमात्र जम्मा भएर पूजा आराधना गरिएको थियो ।
इशापूर्व ५६३ अर्थात् आजभन्दा २५६५ वर्ष अघि सिद्धार्थ गौतमको जन्म आमा मायादेवी माइती देवदह जाने क्रममा लुम्बिनीमा भएको थियो । राजा शुद्धोधन र मायादेवीको सुपुत्रको रुपमा जन्मिएका सिद्धार्थ गौतम २९ वर्षको उमेरमा घरबार त्यागेर दरबारबाट ज्ञानको खोजीमा निस्किएका थिए ।
६ वर्षको तपस्यापछि ३५ वर्षको उमेरमा इसापूर्व ५२८ मा सिद्धार्थलाई भारतको बौद्धगयामा बुद्धत्व प्राप्ति भयो । यसपछि उनले बुद्धका रूपमा विश्वभर प्रसिद्धि पाए । ३६ वर्षको उमेरमा सारनाथमा उनले पहिलोपटक पाँचजना शिष्यलाई प्रवचन दिएका थिए ।
गौतम बुद्धले बताएको आर्य अष्टाङ्गिक मार्गमा सम्यक् दृष्टि, सम्यक् सङ्कल्प, सम्यक् वचन, सम्यक् कर्म, सम्यक् जीविका, सम्यक् व्यायाम, सम्यक् स्मृति र सम्यक् समाधि प्रज्ञा, शील र समाधि पर्छन् ।
यसैगरी पञ्चशीलमा चोरी नगर्नु, झुठो नबोल्नु, यौन व्यभिचार नगर्नु, मद्यपान नगर्नु र हिंसा नगर्नु रहेका छन् । बुद्धलाई शान्तिका अग्रदूत, एसियाका ज्योतिलगायत उपमा दिने गरिएको छ । यस्तै, किरात समुदायको उभौली चाड पनि आजै मनाइन्छ ।
खेतीपाती सप्रियोस्, रोगव्याधी नलागोस्, प्राकृतिक विपत्ति नपरोस् भन्ने कामनासहित किरात समुदायले बाली लगाउने समय पारेर पितृ तथा भूमिको पूजाआजा गरी उभौली पर्व मनाउने प्रचलन छ ।
बालीनाली नबिग्रीयोस् भनेर प्रकृतिको पूजा गरेर मनाइने यो पर्वमा किरात विधिअनुसार सुम्निमा र पारुहाङको पूजा गर्ने गर्छन् । मान्छेलाई खेती गर्ने ठाउँ दिने प्रकृति र खेती गर्न सिकाउने पूर्वजको सम्मानस्वरुप यो पर्वमा भूमिपूजा गरिन्छ ।
कोरोना भाइरस (कोभिड–१९) ले गर्दा किरात समुदायका राई, लिम्बू, याक्खा, सुनुवारलगायत जातिले घर–घरमा पूजामात्र गरेर मनाउँदै छन् । गर्त वर्ष पनि किरातीहरुले पूजामात्र गरेर मात्रै उभौली मनाएका थिए ।
यस्तै, सनातन हिन्दु धर्मावलम्बीहरूमध्ये केहीले यसै दिन देवाली, गोठधुप गर्छन् ।
प्रकाशित मितिः २०७८ जेठ १२ बुधबार
Comments