नवलपरासी । नवलपरासी बर्दघाट सुस्ता पश्चिम मा आज बिहान यात्रुबाहक बस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत बर्दघाट– ४ स्थित दाउन्ने जङ्गलको खुर्सानी खोला नजिकै आज बिहान ६ बजे बस दुर्घटना भएको हो ।
बस सडकबाट २०० मिटर तल खसेको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । काठमाडौंबाट रुकुम पश्चिमका लागि छुटेको ना ५ ख २७१३ नम्बरको बस दुर्घटना भएको ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक बासुदेव नेपालले जानकारी दिए ।
ज्यान गुमाउनेमध्ये रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका– ६ बस्ने २७ वर्षीय कल्पना पुन र सिस्ने गाउँपालिका– ४ बस्ने धनराज घर्तीको मात्र सनाखत भएको छ ।
बसमा अन्दाजी ५८ यात्रु रहेको र ती मध्ये ४९ घाइतेलाई घटनास्थलबाट उद्धार गरी स्थानीय चिसापानी अस्पताल र सञ्जिवनी अस्पतालमा पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजु लामाले जानकारी दिए ।
बसमा सवार पाँच जना सकुशल रहेका छन् । बस खसेको थाहा पाएलगत्तै प्रहरी पुगेको र घटनास्थलमा चार जनाको शव भेटिएको नवलपरासी पश्चिमका प्रहरी प्रवक्ता डीएसपी राजु लामाले जानकारी दिए ।
प्रकाशित मितिः २०७८ जेठ ५ बुधबार
Comments