काठमाडौं । लमजुङ्ग आसपास केन्द्रविन्दु भएर फेरि भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बिहान ८ बजेर २६ मिनेट जाँदा भुलभुले आसपास नै केन्द्रविन्दु भएर ५.३ म्याग्निच्युडको भूकम्प गएको हो ।
यसअघि बुधबार बिहान ५ बजेर ४२ मिनेट जाँदा लमजुङ्गको भुलभुले केन्द्रविन्दु ५.८ म्याग्निच्युडको भूकम्प गएको थियो ।
अहिले गएको भूकम्प सोही भूकम्पको परकम्प रहेको राष्ट्रिय भूकम्प मापन केन्द्रका भूकम्पविद लोकविजय अधिकारीले जानकारी दिएका छन् । भूकम्पको धक्का काठमाडौँ उपत्यकासहितका क्षेत्रमा पनि महशुस भएको छ ।
बुधबार गएका दुवै भूकम्प २०७२ को वैशाखमा गएको भूकम्पका परकम्प रहेको अधिकारीले बताएका छन् । उनले लमजुङ्ग आसपासमा फेरि पनि परकम्प जान सक्ने भएकाले सचेत रहन आग्रह गरेका छन् ।
लमजुङ्गमा भूकम्पका कारण अहिलेसम्म पाँचजना घाइते भएको तथा १० घरमा क्षति पुगेको खबर छ ।
प्रकाशित मितिः २०७८ जेठ ५ बुधबार
Comments