मकवानपुर । एक क्विन्टल अवैध लागूऔषध गाँजा सहित ओसारपसारमा संलग्न ३ जनालाई हेटौंडा उपमहानगरपालिका–१ स्थित सडकबाट ना २ ख ९८६२ नम्बरको ट्रकमा लैजाँदै गरको प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकको महाभारत गाउँपालिका–५ बस्ने ४९ वर्षीय आईते बहादुर ठाडामगर, मकवानपुरको भिमफेदी गाउँपालिका–९ बस्ने ४१ वर्षीय ऐक्ला भन्ने राज कुमार तामाङ र कैलाश गाउँपालिका–१० बस्ने ३६ वर्षीय सविन भन्ने सुबिन रुम्बा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
नामटारबाट हेटौंडातर्फ जाँदै गरेको उक्त ट्रकलाई प्रहरीले जाँच गर्ने क्रममा ट्रकको हुटमा फल्स बटम बनाई १७ वटा पोकामा लुकाई ल्याएको उक्त गाँजा सहित फेला पारी ट्रक र चालक मगरलाई पक्राउ गरेको थियो ।
तत्पश्चात प्रारम्भिक अनुसन्धानको क्रममा गाँजा ओसार पसारमा संलग्न राज कुमार र सुबिनलाई समेत भिमफेदी नगरपालिका–१ बाट पक्राउ गरेको मकवानपुर प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले जानकारी दिए ।
यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
प्रकाशित मितिः २०७८ जेठ मंगलबार
Comments