सप्तरी । सप्तरीको उत्तरी भेगमा रहेको सप्तकोशी नगरपालिकाका उपप्रमुख आशा चौधरीको कोरोना सङ्क्रमणका कारण आज मृत्यु भएको छ ।
विराटनगरस्थित विराट नर्सिङहोममा उपचाररत उनको अस्पतालमै मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख दुनियालाल यादवले जानकारी दिए ।
दुई साताअघि ज्वरो, रुघाखोकी तथा श्वासप्रश्वासमा समस्या देखिएपछि उहाँलाई स्थानीय स्वास्थ्यचौकीमा भर्ना गरिएको थियो । त्यसपछि एन्टिजेन परीक्षण गर्दा उनलाई कोरोना सङ्क्रमण पुष्टि भएको प्रमुख यादवले बताए ।
गर्भवतीसमेत रहेकी उनलाई १० दिनअघि अस्पताल भर्ना गरी आइसीयूमा राखिएको थियो । तीन दिनअघि मात्रै उनको पेटमा भएको बच्चा पनि मृतावस्थामा निकालिएको थियो । बच्चाका कारण पनि उनलाई थप असहज भएको स्वास्थ्यकर्मीको भनाइ छ ।
उपचारका क्रममा पनि स्वास्थ्यमा सुधार नआएपछि उनलाई भेन्टिलेटरमा सारिएको थियो । मृतक चौधरीका पति र सात वर्षीय एक छोरा छन् ।
प्रकाशित मितिः २०७८ जेठ मंगलबार
Comments