काठमाडौं । सरकारले सोमबार मध्यरातदेखि सबै आन्तरिक उडानहरु बन्द गरेको छ भने आगामी वैशाख २३ मध्यरातदेखि सबै अन्तर्राष्ट्रिय उडान बन्द गर्ने निर्णय गरेको छ।
मन्त्रिपरिषद्ले हवाई उड्डयनसम्बन्धी गरेको पाँचबुँदे निर्णय यस्तो छ :
१. मिति २०७८ बैशाख २० गते राति १२:०० बजेदेखि बैशाख मसान्तसम्म नियमित आन्तरिक हवाई उडान स्थगन गर्ने।
२. मिति २०७४ वैशाख २३ गते राति १२:०० बजेदेखि बैशाख मसान्तसम्म सबै अन्तर्राष्ट्रिय हवाई उडान स्थगन गर्ने।
३. स्वास्थ्य मापदण्डको पूर्ण पालना गरी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सूचीकृत गरेको होटेलमा १० दिन अनिवार्य क्वारेन्टिनमा बस्ने गरी नेपाल भारतबीच कायम एयर बबल सुविधा अन्तर्गतका दुईतर्फी उडानहरू हप्ताको दुईवटामा सीमित गर्ने। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल पर्यटन बोर्ड र नेपाल प्रहरीको संयुक्त टोलीले होटेल क्वारेन्टिनमा बसे नबसेको दैनिक अनुगमन गरी कोभिड-१९ सङ्कट व्यवस्थापन केन्द्रमा दैनिक प्रतिवेदन गर्ने। होटेल क्वारेन्टिनमा बस्नुपर्ने यात्रुले स्वास्थ्य मापदण्ड पालना नगरेको र क्वारेन्टिनमा नबसेको पाइएमा सङ्क्रामक रोग ऐन, २०२० बमोजिम मुकरर अधिकारीसमक्ष कारबाहीको लागि लेखी पठाउने । कुनै पनि उडानमा पिसिआर पोजेटिभ भएका यात्रुलाइ बोर्डिङ पास दिइ यात्रा गराएमा सो उडानका सबै यात्रुको क्ववारेन्टिन खर्च सम्बन्धित एयरलाइन्सले व्यहोर्ने व्यवस्था गर्ने ।
४. आन्तरिक र अन्तर्राष्ट्रिय चार्टर्ड तथा उद्धार उडानको हकमा स्वास्थ्य सुरक्षा गापदण्डको पूर्ण पालना हुने गरी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले उडान अनुमति जारी गर्ने ।
५. चार्टर्ड र उद्धार अन्तर्राष्ट्रिय उडानबाट आउने/जाने यात्रुहरूको बारकोड र फोटोसहितको पिसिआर रिपोर्ट अनिवार्य गर्ने ।
प्रकाशित मितिः २०७८ बैशाख २१ मंगलबार
Comments