जाजरकोट १७ असार । भेरी नगरपालिकाले आगामी बर्षलाई शैक्षिक सुधारको लागि शिक्षक व्यवस्थापन र कोर्ष पुरा वर्ष घोषणा गर्न प्रस्ताव गरेको छ । नगर शिक्षा शाखाका शिक्षा अधिकृत भक्तबहादुर मल्लले प्रस्तुत गरेको प्रस्तावमा उक्त कार्यका लागि ७ करोड २६ लाख ५७ हजार बजेट आवश्यक पर्ने उल्लेख छ । जसमा भौतिक पूर्वाधार तर्फ ६ करोड १२ लाख ९५ हजार र तलबमा १ करोड १३ लाख ६२ हजार खर्च हुने उल्लेख छ ।
कमजोर शैक्षिक व्यावस्थापनका कारण उत्पादित जनशक्ति कमाजोर भएको ठहर गर्दै उक्त प्रस्तावमा शिक्षक दरवन्दी कमी, कमजोर विद्यालयको भौतिक अवस्था र सरोकारवालाहरुमा चेतनाको कमीले शैक्षिक व्यवस्थापन कमजोर भएको निष्कर्ष निकालिएको छ ।
स्थानीय सरकारले आफ्ना स्थानीय आवश्यकताहरु पहिचान गरी ती आवश्कताहरुको परिपुर्ति गर्ने बजेटको व्यवस्थापन गरि कार्यान्वयन गर्न सकिएमा उक्त चुनौती समाधान गर्न सकिने भन्दै उक्त प्रस्ताव गरिएको उल्लेख छ ।
नगरपालिको शैक्षिक अवस्था सुधारका लागि नगरपालिका भित्रका विद्यालयहरुको शैक्षिक अवस्था सुधार गरि गुणस्तरिय शैक्षिक वातावरण कायम राख्नु पर्ने भएको उक्त प्रस्तावमा उल्लेख छ । यसैगरी प्राथमिक तहका कक्षा १ देखि ३ सम्मका लागि कम्तिमा २ जना र १–५ का लागि न्यूनतम ४ जना शिक्षक दरबन्दी कायम गरी १७ दरबबन्दीका लागि प्रति महिना प्रति शिक्षक १२ हजारका दरले २६ लाख ५२ हजार रकम आवश्यक पर्ने प्रस्ताव छ ।
Comments