भक्तपुर, १ असार । शिक्षक सेवा आयोगले एकै पटक प्राथमिक तहका दश हजार शिक्षक पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ । खुला तथा समावेशी रूपमा ९ हजार ९९६ शिक्षक माग गरेको हो । देशभर रिक्त रहेका ५,४९८ वटा खुल्ला तथा आरक्षित ४,४९८ पदका लागि आयोगले विज्ञापन प्रकाशित गरेको छ ।
आयोगले आज सूचना प्रकाशित गरी असार ३० गतेसम्म दरखास्त फाराम भर्न सूचित गरेको छ। दोब्बर दस्तुरमा साउन ५ गतेसम्म फाराम भर्न सकिनेछ ।
देशका ७७ वटै जिल्लामा प्राथमिक तह तृतीय श्रेणीको रिक्त पद परपूर्तिका लागि आयोगले विज्ञापन प्रकाशित गरेको हो ।
यसका लागि उम्मेदवार बन्न मान्यता प्राप्त शिक्षण संस्थाबाट प्रवीणता प्रमाणपत्र तह वा सो सरहको परिक्षा उतिर्ण गरेको हुनुपर्नेछ भने शिक्षा विषयमा कम्तिमा १० महिने तालिम प्राप्त गरेको हुनुपर्ने लगायतका न्यूनतम योग्यता तय गरिएको छ ।
पदपूर्तिका लागि लिखित परिक्षा र अन्तर्वार्ता लिइने विज्ञापनमा उल्लेख छ । प्राथमिक तहका शिक्षकको छनोट जिल्लास्तरमा हुनेछ । लिखित परीक्षा असोज १३ गते शनिबारका लागि तय गरिएको छ ।
दरखास्त फाराम संकलन तथा रुजु सम्बन्धित जिल्लाको शिक्षा विकास तथा समन्वय इकाईले गर्ने आयोगले जनाएको छ ।
Comments