भक्तपुर, १४ बैशाख । राष्ट्रिय परीक्षा बोर्डले सञ्चालन गरेको कक्षा १२ को परीक्षा आजदेखि शुरु भएको छ । वैशाख २७ गतेसम्म सञ्चालन हुने कक्षा १२ को परीक्षा आज बिहान ७ बजेबाट देशभर शान्तिपूर्णरुपमा शुरु भएकोे राष्ट्रिय परीक्षा बोर्डका परीक्षा नियन्त्रक डम्बर बतासले जानकारी दिए ।
परीक्षामा देशभरका तीन हजार ९ सय १२ विद्यालयका दुई लाख आठ हजार २ सय ७६ छात्र र दुई लाख छ हजार ९ सय ७५ छात्रा गरी कूल चारलाख १५ हजार २ सय ५२ परीक्षार्थी सहभागी भएका छन् । परीक्षामा सबभन्दा बढी काठमाडौंमा ६१ हजार ९ सय २६ तथा सबैभन्दा कम मनाङमा ८८ जना परीक्षार्थी सहभागी भएको उनले जानकारी दिए ।
बोर्डले परीक्षाका लागि देशभर एक हजार ५१ परीक्षा केन्द्र निर्धारण गरेको छ । सबैभन्दा बढी काठमाडौंमा १ सय १४ वटा र सबैभन्दा कम मनाङ र मुस्ताङमा एक/एक वटा परीक्षा केन्द्र रहेको छ ।
बोर्डका अनुसार परीक्षामा एक हजार ५१ केन्द्राध्यक्ष, एक हजार ८ सय ८८ सहायक केन्द्राध्यक्ष, २० हजार ८ सय ६३ निरीक्षक, एक हजार ६० परीक्षा केन्द्रमा खटिने कर्मचारी, दुई हजार १ सय २० कार्यालय सहयोगी, १२ हजार ७ सय २० सुरक्षाकर्मी गरी कूल ३९ हजार ७ सय २ जनशक्ति परिचालन भएका छन् । बोर्डले परीक्षामा अमर्यादित काम गरेको पाइएमा छ महिना कैद र रु एक लाखसम्म जरिवाना हुने व्यवस्था गरेको छ ।
कक्षा ११ को परीक्षा भने वैशाख ३० गतेदेखि शुरु भई जेठ २९ गते सम्पन्न हुनेछ ।
कक्षा १२ को परीक्षा शुरु, चारलाख १५ हजार विद्यार्थी सहभागी
0
Share.
Comments