भक्तपुर, २० असार । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसियसन नेपाल (एनप्याब्सन) भक्तपुरले ६ सय ५ विद्यार्थीलाई सम्मान गरेको छ । एनप्याब्सन भक्तपुरले आयोजना गरेको माध्यमिक शिक्षा परीक्षा एसईई उत्तीर्ण विद्यार्थीलाई गरेको बधाई कार्यक्रमको अवसरमा भक्तपुरका विभिन्न विद्यालयमा अध्ययनरत ६०५ विद्यार्थीलाई सम्मान गरिएको हो । एनप्याब्सन भक्तपुरले २०७२ र ०७३ सालमा एसईई परीक्षा उत्तीर्ण भई उत्कृष्ट नतिजा ल्याउन सफल विद्यार्थी सम्मानित भएका हुन् ।
एनप्याब्सनका अध्यक्ष कर्णबहादुर शाहीले विद्यार्थीलाई सम्मानित गर्दै सधैँ सही मार्गमा हिँड्न आग्रह गर्नुभयो । जीवी खड्काको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा एसईई परीक्षाअन्तर्गत २०७२ साल उत्कृष्ट नतिजा ल्याउन सफल डेमोस स्कुलबाट छात्रतर्फ हिमाल थिङ र छात्रातर्फ पारागण एकेडेमीका सुस्मिता तामाङ र विपना ओझा खत्री सम्मानित भएका थिए ।
त्यसैगरी ०७३ मा उत्कृष्ट नतिजा ल्याउन सफल छात्रतर्फ पारगण एकेडेमीका प्रविण थापामगर र छात्रातर्फ विमल मेमोरियल स्कुलका अनुजा राउत सम्मानित हुनुभएको थियो । एसईई परीक्षामा ३ दशमलव २ जिपिएभन्दा माथि ल्याएका विद्यार्थीलाई पनि सम्मान गरिएको थियो ।
Comments