काठमाडौं । विवाहमा बेहुलाले बेहुलीलाई सिन्दूर हाल्दाहाल्दै प्रहरी आएर बालविवाह भएको भन्दै विवाह रोकिदिएपछि रिसाएका बेहुलाले बेहुलीकी बहिनीकै अपहरण गरेका छन् । पुलिसले नाबालिग किशोरीको विवाह रोक्नुका साथै अपहरित बालिकाको पनि उद्धार गरेको छ । अपहरणमा सहयोग गर्ने बेहुलाकी आफन्त एक महिलालाई पुलिसले पक्राउ गरेको छ । अपहरणकारी बेहुला भने फरार भएका छन् ।
टाइम्स अफ इण्डियाका अनुसार भारतको मध्य प्रदेशको मुरैना जिल्ला अन्तर्गत पोरसा थाना क्षेत्रमा दलित नाबालिग किशोरीको विवाह हुँदै गरेको सूचना पाएपछि सक्रिय पुलिस र महिला तथा बालविकास विभागले किशोरीको उद्धार गरेका हुन् । परिवारलाई सम्झाइबुझाइ गरेर किशोरीलाई पुलिस थाना ल्याइएको थियो । तर, यो विवादका बीचमा बेहुलाले बेहुलीको सिउँदोमा सिन्दूर हालिदिए । पुलिस र प्रशासनले स्वास्थ्य परीक्षण गराएर किशोरीलाई मुरैनाको वन स्टप सेन्टरमा राखेको छ ।
बिहे रोकिएपछि रिसाएका बेहुला आफ्नी महिला आफन्तको साथमा बेहुलीको घरमा पुगेका थिए । त्यसपछि उनले बेहुलीकी १२ वर्षकी बहिनीलाई बिहे गर्ने उद्देश्यका साथ जबरजस्ती साथमा लिएर गए । यसको जानकारी पाएलगत्तै पुलिसले खाजी गरी अपहरित बालिकालाई उद्धार गरे । पुलिसले अपहरित बालिकाका पिताको उजुरीमा अपहरण तथा बालविवाह अधिनियम अन्तर्गत मुद्दा दर्ता गरेको छ ।एजेन्सी
प्रकाशित मितिः २०७७ मंसिर २९ सोमबार
Comments