काठमाडौं । जोम्बी एन्जेलिना जोली भनेर चिनिने इरानकी किशोरी सहर तबरलाई १० वर्षको जेल सजाय सुनाइएको छ । हलिउड अभिनेत्री एन्जेलिना जोली जस्तो देखिन प्लास्टिक सर्जरी गरेकी सहर तबर नामक ती इन्स्टाग्राम स्टारलाई सामाजिक सञ्जालमा गरेको हर्कतका लागि कारावास सजाय दिइएको हो ।
तबरको वास्तविक नाम फातेमा खिशवन्द हो । उनले आफ्नो भयानक अनुहार इन्स्टाग्राममा राख्न थालेपछि प्रख्याति कमाएकी थिइन् । इन्सटाग्राममा उनका चार लाख ८६ हजार फलोअर छन् ।
उनलाई सन् २०१९ को अक्टोबर ५ मा अन्य तीनजना महिलासँगै पक्राउ गरिएको थियो । सार्वजनिक भ्रष्टीकरणलाई प्रवर्द्धन गरेको भन्दै उनलाई दश वर्षको कारावास सजाय दिइएको बताइएको छ ।
उनकी वकिल अलिनेजादले हलिउड अभिनेत्री एन्जेलिना जोलीलाई तबरको रिहाइका लागि पहल गर्न अपील गरेकी छन् । तबरविरुद्ध धर्मनिन्दा, हिंसा प्रवर्द्धन, गलत तरिकाले कमाइ गरेको र युवाहरूलाई भ्रष्टीकरणका लागि उक्साएको आरोप छ ।
प्रकाशित मितिः २०७७ मंसिर २८ आइतबार
Comments