काठमाडौं । अमेरिकाका वरिष्ठ सरुवारोग विशेषज्ञ डा एन्थोनी फाउचीले क्रिसमसपछि कोरोना भाइरसको संक्रमणदरमा थप उच्च विन्दुमा पुग्ने चेतावनी दिएका छन् ।
थ्याङ्गसगिभिङ्गपछि अमेरिकामा संक्रमण अति तीव्र गतिमा बढिरहेका बेला डा फाउचीले क्रिसमसमा हुने भेला तथा जमघटहरुले त्यसपछिका दिनको संक्रमण अवस्था थप भयावह हुने चेतावनी दिएका हुन् ।
क्रिसमस र नयाँ वर्षको अवधिमा हुने पारिवारिक भेटघाट तथा जमघटले संक्रमण नियन्त्रण अभियानमा ठूलो जोखिम निम्त्याउन सक्ने डा फाउचीले बताएका हुन् ।
अमेरिकामा पछिल्ला दिनहरुमा दैनिक दुई लाख वा त्यो भन्दा धेरै मानिसमा संक्रमण पुष्टि हुने गरेको छ । यस्तै अस्पताल भर्ना हुनु पर्ने बिरामीको संख्या पनि अधिक छ ।
संक्रमण बढ्दै गएपछि क्यालिफोर्निया राज्यमा फेरि लकडाउन लागु भएको छ । अरु राज्यहरुमा पनि संक्रमण तीव्र गतिमा बढिरहेको छ ।
अमेरिकामा संक्रमितको संख्या एक करोड ४७ लाख भन्दा धेरै छ भने कोभिड–१९ बाट अहिलेसम्म दुई लाख ८२ हजार पाँच सय भन्दा बढिको ज्यान गएको छ ।
राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसको महामारीलाई गम्भीर रुपमा नलिएको र सावधानीहरु पालनाका लागि आवश्यक पहल नगरेको आरोप छ ।
राष्ट्रपतिमा निर्वाचित भएका जो बाइडेनले डा फाउचीलाई आफ्ना लागि कोभिड–१९ सम्बन्धी प्रमुख स्वास्थ्य सल्लाहकार बन्नका लागि प्रस्तावित गरेका छन् । डा फाउचीले सिएनएनसँग थ्याङ्गसगिभिङ्ग भन्दा पनि विकराल रुप लिएर क्रिसमसपछिको समय आउने डर रहेको बताएका हुन् । एजेन्सी
प्रकाशित मितिः २०७७ मंसिर २३ मंगलबार
Comments