काठमाडौं । इटालीमा नयाँ कोरोना भाइरसको सङ्क्रमणबाट सोमबारसम्ममा चार जनाको मृत्यु भएको स्वास्थ्य अधिकारीहरुले बताएका छन् । उत्तरी लोम्बार्डी क्षेत्रमा पछिल्लो पटक एक जना ८४ वर्षका वृद्धको कोरोनाकै सङ्क्रमणबाट मृत्यु भएको हो ।
इटालीको लोम्बार्डीमै यसअघि अरु तीन जनाको कोरोना सङ्क्रमणबाट ज्यान गएको थियो । यहाँ इटाली सरकारले पूरै गाउँ बस्तीलाई अलग्याएको छ र सुरक्षा व्यवस्था कडा बनाएको छ ।
इटालीको नागरिक सुरक्षा विभागका प्रमुख एन्जेलो बोरेल्लीले मुलुकभर आइतबारसम्ममा १५० जनाभन्दा बढीलाई कोरोना सङ्क्रमण देखिएको जानकारी दिनुभएको छ । युरोपमै इटालीमा सबैभन्दा बढी कोरोना सङ्क्रमित व्यक्ति देखिएका छन् ।
लोम्बार्डीका १० वटा तथा छिमेकी भेनिटो शहर गाउँलाई अन्य क्षेत्रबाट अलग्याइएको छ र झण्डै ५० हजार मानिसलाई अन्यत्र जान दिइएको छैन । स्थानीय अधिकारीहरुले बारहरु, रेस्टुराँ र डिस्को बन्द गर्न आदेश दिएका छन् ।
कोरोनाकै कारण मिलान फेसन सप्ताह, भेनिस कार्निभल र सिरि ए फुटबल खेलहरु स्थगन गरिएका छन् । मिलानको निकै लोकप्रिय ला स्कालामा संचालित ओपेराहरु रद्द गरिएका छन् ।
इटालीमा सबैभन्दा बढी कोरोना सङ्क्रमितहरु लोम्बार्डीमा भेटिएका छन् । अधिकारीहरुले पहिलो कोरोना संक्रमित ३८ वर्षीय व्यक्तिमाथि कडा निगरानी गरिएको बताएका छन् ।
महामारीको रुप लिएको कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या २४ सय भन्दा बढी पुगेको छ । विश्वभर कोरोनाबाट मृत्यु हुनेको संख्या २६ सय १९ पुगेको छ ।
अन्तराष्ट्रिय सञ्चर माध्यम सीएनएनका अनुसार कोरोनाको संक्रमणबाट चीनमा २४ सय ४५ र अरु देशमा २० जनाको मृत्यु भएको छ । कोरोना संक्रमितको संख्या ७९ हजार ९ सय ३० जना पुगेको छ ।
कोरोनाभाइरसबाट सङ्क्रमण भएका व्यक्तिको सङ्ख्या ह्वात्तै बढेपछि दक्षिण कोरियाका अधिकारीहरूले उक्त प्रकोपलाई नियन्त्रण गर्ने उद्देश्यले विभिन्न उपायहरू अवलम्बन गरेका छन् । सङ्क्रमण बढेकोबढ्यै गर्न थालेपछि त्यहाँ उच्चतम तह को सतर्कता घोषणा गरेर सरकारी अधिकारीहरू कोरोनाभाइरस प्रकोप नियन्त्रण गर्न लागिपरेका छन् ।
छिमेकी उत्तर कोरियामा अहिलेसम्म सङ्क्रमण नदेखिएको भए पनि सरकारले विदेशी कूटनीतिज्ञहरूसहित बाहिरबाट आएका मानिसलाई अलग्गै राखेको छ ।एजेन्सी
प्रकाशित मितिः २०७६ फागुन १२ सोमबार
Comments