काठमाडौं । नोवेल कोरोना भाइरसका कारण युरोपमा पहिलो पटक एक जनाको मृत्यु भएको छ । कोभिड–१९ नाम दिइएको नोवेल कोरोना भाइरसको संक्रमणका कारण फ्रान्समा एक जनाको मृत्यु भएको हो ।
फ्रान्स घुम्न पुगेका चीनको हुबेइ प्रान्तका ८० वर्षीय पुरुष रहेको फ्रान्सका स्वास्थ्यमन्त्री आनियास बिजाँले बताइन् । एसिया बाहिर यो पहिलो पटक कोरोनाका कारण व्यक्तिको मृत्यु भएको घटना हो । उनी १६ जनवरीमा फ्रान्स पुगेका थिए र २५ जनवरीका दिनदेखि क्वारेन्टाइनमा राखिएको उनले बताइन् ।
योसँगै चीनबाहिर चार जनाको मृत्यु भएको थियो । यसअघि, चीन बाहिर हङकङ, फिलिपिन्स र जापानमा एक एक जना संक्रमितको मृत्यु भएको थियो ।
चीनभित्रै हालसम्म १५०० जना भन्दा बढी मानिसको मृत्यु भएको छ । चीनमा हालसम्म कुल संक्रमितको संख्या ६६ हजार भन्दा बढि पुगेको छ ।
फ्रान्सले यसअघि आफ्नो देशमा कोरोनाभाइरस संक्रमित ११ जना रहेको बताएको थियो । चीनबाहिर अहिलेसम्म २४ मुलुकमा ५०० भन्दा बढी संक्रमित भएका छन् ।एजेन्सी
प्रकाशित मितिः २०७६ फागुन ४ आइतबार
Comments