काठमाडौं । थाइल्यान्डको उत्तरपूर्वमा रहेको कोरातमा २६ जनाको ज्यान लिने गरी एक सैनिकले मच्चाएको गोलीकाण्डको मकसद सार्वजनिक भएको छ । ती सैनिकलाई जमीनको एक सम्झौतामा असन्तुष्टि रहेको प्रधानमन्त्री प्रयुत चान–ओचाले आइतवार बताए ।
शनिवार दिउँसो ३ बजेदेखि चलेको गोलीकाण्ड आइतवार बिहान सुरक्षाकर्मीहरूले सैनिकलाई मारेपछि टुंगिएको थियो । ती सैनिकको नाम जाकरापन्थ थोम्मा हो र उनी कनिष्ठ सैन्य अधिकारी हुन् ।
थोम्माले आफ्ना कमान्डर र दुई सैनिकलाई मारेपछि हतियार, गोलीगट्ठा र हम्भी वाहन सैन्य अड्डाबाट चोरेका थिए । त्यसपछि उनी एक बौद्ध मन्दिर गए अनि त्यहाँबाट व्यस्त शपिङ सेन्टर टर्मिनल २१ पुगे ।
त्यहाँ उनले सामान किन्न गएका मानिस र पैदलयात्रीहरूमाथि गोली चलाए अनि केहीलाई बन्धक पनि बनाए । सुरक्षाबलहरूसँग १७ घन्टा आमनेसामने भएपछि उनलाई गोली हानेर मारियो ।
गोलीकाण्ड गरिरहँदा उनले आफ्नो फेसबूक पेजमा अप्डेट पनि गरिरहेका थिए जसमा उनले लेखेका थिए– ‘कोही पनि मृत्युबाट भाग्न सक्दैन’ र ‘म आत्मसमर्पण गरौं ? ’ ती पोस्टहरू पछि डिलिट गरिएका थिए । एजेन्सी
प्रकाशित मितिः २०७६ माघ २६ आइतबार
Comments