काठमाडौँ । कोरोना भाइरस संक्रमित बिरामीको उपचारका लागि चीनको वुहान शहरमा १० दिनभित्र निर्माण भएको अस्पतालको सोमबार उद्घाटन हुने भएको छ ।
गएको जनवरी २४ अर्थात माघ १० गतेबाट निर्माण सुरु भएको अस्पतालको निर्माणकार्य सम्पन्न भएको हो । झण्डै, २५ हजार वर्गमिटर क्षेत्रफलमा निर्माण भएको हुओसेनसान अस्पतालमा एक हजार शय्या राखिएको छ ।
घातक कोरोना भाइरसको कारण ज्यान गुमाउनेहरुको संख्या बढेसँगै चीनले व्यापक सतर्कता अपनाउँदै आएको छ । यसअघि पनि भाइरस संक्रमित बिरामीको उपचारका लागि छोटो समयमा अस्पताल निर्माण गरिसकेको छ ।
चीनको हुवेई प्रान्तको वुहानबाट सुरु भएको कोरोना भाइरसको संक्रमणबाट अहिलेसम्म चीनमा मात्रै ३ सय ४ जनाको ज्यान गएको र १४ हजार ३ सय ८० जनामा कोरोनाको संक्रमण भएको पुष्टि भैसकेको बीबिसीले जनाएको छ ।
चीनका विभिन्न सहरी क्षेत्रमा कोरोना भाइरसको सङ्क्रमण फैलिने क्रम तीव्र बनेपछि प्रशासनले आउँदो फेब्रुअरी ३ सम्ममा नयाँ अस्पतालमा सेवा सञ्चालन गर्नेगरी काम गर्न निर्देशन दिएको हो।एजेन्सी
प्रकाशित मितिः २०७६ माघ १९ आइतबार
े
Comments