काठमाडौं । आइपिएलअन्तर्गत गएराति भएको खेलमा रोयल च्यालेन्जर्स बैंग्लोरले गुजरात टाइटन्सलाई ४ विकेटले पराजित गरेको छ । एम चिन्नास्वामी स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको गुजरात १९.३ ओभरमा १४७ रनमा अलआउट भयो । बैंग्लोरले १४८ रनको विजय लक्ष्य १३.४ ओभरमा ६ विकेटमा पूरा गर्यो । बैंग्लोरका लागि फाफ डु प्लेसिसले २३ बलमा ३ छक्का र १० चौका सहित ६४ रन बनाए । विराट कोहलीले २७ बलमा ४ छक्का र २ चौकासहित ४२ रन बनाए । दुवैले ९२ रनको ओपनिङ साझेदारी गरे ।
विलज्याक्स, रजत पाटिदार, ग्लेन म्याक्सवेल, क्यामरुन ग्रिनले दोहोरो अंकको स्कोर बनाउन सकेनन् । दिनेश कार्तिक २१ र स्वप्लिन सिंह १५ रनमा नटआउट रहे । स्वप्निलले अन्तिम बलमा छक्का प्रहार गरेर टिमलाई जित दिलाए । बलिङतर्फ जोश लिटलले ४ विकेट लिए । नुर अहमदले २ विकेट हात पारे । यसअघि पहिले ब्याटिङ गरेको गुजरात टाइटन्सका लागि राहुल तेबतियाले ३५, डेभिड मिलरले ३० र एम शाहरुख खानले ३७ रन बनाए । बलिङतर्फ २९ रन खर्चेर २ विकेट लिएका मोहम्मद सिराज प्लेअर अफ द म्याच बने । यससँगै बैंग्लोर ८ अंकसहित अंक तालिकाको सातौं स्थानमा उक्लिएको छ भने अन्तिम चारमा पुग्ने सम्भावना कायम राखेको छ ।
प्रकाशित मितिः २०८१ बैशाख २३ आइतबार
Comments