काठमाडौं । ताइवानमा संप्रभूत्त्ववादी नेता विलियम लाइ (लाइ चिङ ते) नयाँ राष्ट्रपति निर्वाचित भएका छन्। शनिबार सार्वजनिक भएको निर्वाचन परिणामबाट लाइले ४० प्रतिशत मत प्राप्त गर्दै त्यहाँको नयाँ राष्ट्रपति नियुक्त भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।
लाइ डेमोक्रेटिक पिपुल्स पार्टी(डिपीपी) का उम्मेदवार हुन्। उनी ताइवानका उपराष्ट्रपति थिए। डिपीपीलाई चीनले पृथकतावादी पार्टीका रूपमा चित्रण गर्दै आइरहेको छ। चीनले कुनैदिन ताइवान आफ्नो भूभागमा समेटिने दाबी गर्दै आइरहेकोमा डिपीपी ताइवानी नागरिक स्वतन्त्रताको वकालत गर्दै आइरहेको छ।
ताइवानको राष्ट्रपति निर्वाचनलाई दुई ठूला शक्तिराष्ट्र अमरिका र चीनले नजिकबाट नियालेका थिए।चीनले लाईको विपक्षमा मतदान गर्न आह्वान नै गरेको बिबिसीले उल्लेख गरेको छ। लाइका विपक्षी उम्मेदवार कुओमिन्ताङ पार्टीका हु यु चीन समर्थित मानिन्छन्। उनले चीनसँग बलियो सम्बन्ध र एकीकरणको वकालत गर्दै आएका छन्।
बिबिसीका अनुसार यीले निर्वाचनकै दौरान आफू राष्ट्रपति निर्वाचित भए चीनसँगको सम्बन्ध राम्रो बनाउने बताएका थिए। चुनावमा पराजित भएपछि उनले लाइलाई बधाई दिँदै ताइवानमा विद्यमान चुनौतीहरूको सामना गर्ने सरकार आवश्यक रहेको बताएका छन्।
नयाँ राष्ट्रपनि निर्वाचित भएसँगै लाइले चीनसँगको सम्बन्धबारे होसियारीपूर्वक बोलेका छन्। उनले चीनसँग आपसी सम्मानका आधारमा वार्ता हुने बताएका छन्। ताइवानमा डिपीपीले नै राष्ट्रपति निर्वाचन जितेपछि अमेरिकाले पनि बधाई दिएको छ।
प्रकाशित मितिः २०८० पौष २९ आइतबार
Comments