काठमाडौं । जर्मनीका महान फुटबलर फ्रान्ज बेकनबउरले ७८ वर्षको उमेरमा निधन भएको छ। महान खेलाडी तथा प्रशिक्षक रहेका उनी जर्मनीमा सर्वाधिक सम्मानित फुटबलरका रूपमा परिचित छन्।
बेकनबउरकाे निधनबारे परिवारले पुष्टि गर्दै उनको निधनको समय परिवार सँगै रहेको जानकारी दिएको छ। बेकनबउरले पश्चिम जर्मनीलाई १९७४ को विश्वकप उपाधि दिलाउँदा टोलीको कप्तानको भुमिका निभाएका थिए।
त्यस्तै, उनले जर्मनीको प्रशिक्षकको रूपमा समेत १९९० मा ट्रफी जितेका थिए। उनी बार्यन म्युनिखका सर्वाधिक प्रतिष्ठित फुटबलरसमेत हुन। बेकनबउर वार्यन म्युनिखका महान डिफेन्डरसमेत हुन्। उनले ५ सय ८२ पटक वार्यनबाट प्रतिस्पर्धा गरेका थिए। उनी बार्यनबाट खेलाडी र प्रशिक्षकको रूपमा लामो समय रहेका थिए।
उनलाई जर्मनीमा ‘डेर काजर’ को उपमा दिइएको थियो। त्यसको अर्थ सम्राट हो। पछिल्ला केही वर्षदेखि उनी स्वास्थ्यसम्बन्धी समस्याबाट गुज्रिरहेका थिए। बायर्नले महान पुस्ता गुमाएको भन्दै अब उनको पालाको जस्तो क्लब कहिले पनि नहुने भन्दै ‘गरीब’ भएको बताएको छ।
उनले सन् १९९० को विश्वकपमा जर्मनीलाई एकताबद्ध बनाउन महान भूमिका खेलेका थिए। जर्मन फुटबल संघका अध्यक्ष बर्न्ड नेडोर्फले जर्मन फुटबलले देखेका सबैभन्दा महान खेलाडी गुमाएको बताए। अध्यक्ष नेडाेर्फले पूरा विश्व फुटबलमै उनले पुर्याएकाे योगदानका लागि सधै ऋणी रहने बताए।
उनको निधनमा फिफा अध्यक्ष जियानी इन्फान्टिनो, फिट सिल्टनलगायत विश्व फुटबलका महान खेलाडीहरूले दु:ख व्यक्त गरेका छन्।
प्रकाशित मितिः २०८० पौष २४ मंगलबार
Comments