काठमाडौं । क्रेमलिनले गत वर्ष कब्जा गरेको भनी दाबी गरेको युक्रेनका चार क्षेत्रमा रुसी राष्ट्रपति निर्वाचनका लागि मतदान हुने मस्कोले सोमबार बताएको छ । मार्चमा युक्रेनका डोनेट्स्क, लुगान्स्क, जापोरिजिया र खेरसनमा मतदान हुने केन्द्रीय निर्वाचन आयोगले बताएको हो ।
ती क्षेत्रमा अहिले पनि रुसको पूर्ण सैन्य नियन्त्रण छैन । सरकारी समाचार एजेन्सी तासका अनुसार आयोगका उपाध्यक्ष निकोले बुलायेभले भने, “ती क्षेत्रमा निर्वाचन हुने निर्णय सर्वसम्मतिले भएको हो ।”
निर्वाचन आगामी मार्च १५ देखि १७ सम्म हुनेछ । क्रेमलिनका आलोचकहरूले निर्वाचनले पारदर्शिताको ग्यारेन्टीलाई अझ धेरै कठिन बनाउने बताएका छन् । राष्ट्रपति निर्वाचनमा भ्लादिमिर पुटिन पुनः निर्वाचित हुने सम्भावना छ । रुसका अधिकांश विपक्षी नेता कारागार वा निर्वासनमा रहेकाले पुटिनले पाँचौँ कार्यकालका लागि कुनै ठूलो चुनौतीको सामना गर्ने अपेक्षा गरिएको छैन ।
प्रकाशित मितिः २०८० मंसिर २६ मंगलबार
Comments