काठमाडौं । पश्चिमी अफ्रिकी राष्ट्र नाइजेरियामा सरकारी सेनाको आक्रमणबाट ८५ सर्वसाधारणको ज्यान गएको छ । नाइजेरियाको सेनाले ड्रोनबाट बम खसाएपछि धार्मिक उत्सवमा भेला भएका ८५ जनाको मृत्यु भएको हो ।
आइतबारको हिंस्रक घटनापछि सेनाले झुक्किएर धार्मिक उत्सवमा बम खस्न पुगेको स्पष्टीकरण दिएको छ । आइतबार राति कादुना राज्यको टुदुन बिरी गाउँमा धर्मावलम्बीहरू मुस्लिम धर्मगुरु प्रोफेट मोहम्मदको जन्मोत्सव मनाइरहेका थिए ।
सरकारी सेनाले आतंकवादी ठानेर ड्रोन बम हमला गर्दा उनीहरूको निधन भएको कादुनाका गभर्नर उबा सानीले बताएका छन् । राष्ट्रिय आपत्कालीन व्यवस्थापन एजेन्सीले मंगलबार एक विज्ञप्ति जारी गर्दै अहिलेसम्म ८५ शवको अन्त्येष्टि गरेको बताएको छ । अन्य कयौँ बेपत्ताहरूको खोजी कार्य जारी राखिएको छ ।
नाइजेरियाको यो घटनामा अधिकारवादी संस्था एम्नेस्टी इन्टरनेसनलले भने यस आक्रमणमा १२० जनाको मृत्यु भएको बताएको छ । यस घटनामा धेरै बालबालिका मारिएको एम्नेस्टीले जनाएको छ ।
चरमपन्थी र विद्रोही हमलाले नाइजेरियाको उत्तरपश्चिम र मध्य क्षेत्रका केही भागलाई ध्वस्त पारेको छ । देशका सेनाहरूले हवाई बमबारीका साथ सशस्त्र समूहको लुकेका ठाउँलाई बारम्बार निशाना बनाएका छन् । तर, कहिलेकाहीँ झुक्किएर गाउँमा बमबारी हुने गरेका छन् ।
प्रकाशित मितिः २०८० मंसिर १९ मंगलबार
Comments