काठमाडौं । क्रिकेट विश्वकप २०२३ मा भारतको पराजयको खुसी मनाएको भन्दै काश्मीरको कृषि विश्वविद्यालयका ७ जना विद्यार्थी पक्राउ परेका छन्।
उनीहरूविरुद्ध यूएपीए ऐनअन्तर्गत मुद्दा दर्ता गरिएको छ। इन्डियन एक्सप्रेसको समाचार अनुसार विश्वविद्यालयकै एक विद्यार्थीको उजुरीमा यो मुद्दा दर्ता गरिएको हो।
अष्ट्रेलियाली टोलीले क्रिकेट विश्वकपको फाइनल जित्दा यी कश्मीरी विद्यार्थीहरूले पाकिस्तानको समर्थनमा नारा लगाएका थिए। उजुरी गर्ने विद्यार्थीलाई धम्की दिइएको विद्यार्थीको आरोप छ।
यो विषयलाई लिएर विश्वविद्यालयको छात्रावासमा विद्यार्थीहरुबीच झगडा भएको थियो। विश्वविद्यालयका विद्यार्थी कल्याणका डिन डा. मोहम्मद अबुबकर अहमद सिद्दीकीले इन्डियन एक्सप्रेससँग विद्यार्थीहरू पक्राउ परेको पुष्टि गरेका छन्।
उनी भन्छन्, ‘यस घटनामा ७ जना विद्यार्थी पक्राउ परेका छन्।‘ उक्त छात्रावासमा ३ सय विद्यार्थी बस्ने विश्वविद्यालयका अधिकारीले बताए। जसमध्ये ३०/४० जना विद्यार्थी पञ्जाब, राजस्थानलगायत अन्य राज्यका छन्। नोभेम्बर १९ गते राति यी विद्यार्थीबीच झडप भएको थियो।
अधिकारीहरूका अनुसार अन्य राज्यबाट आएका विद्यार्थीले भारतको हारपछि कश्मीरी विद्यार्थीहरूले उत्सव मनाएको गुनासो गरेका थिए। अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा घरेलु टोली भारतलाई ६ विकेटले स्तब्ध पार्दै अष्ट्रेलियाले उपाधि जितेको थियो।
उत्कृष्ट बलिङ प्रदर्शन गरेको अस्ट्रेलियाले भारतलाई २४० रनमा अलआउट गरेको थियो भने ट्राभिस हेडले शतक बनाएपछि ४३ ओभरमै ३ विकेटमात्र गुमाएर लक्ष्य पूरा गर्दै पाहुना टोली अस्ट्रेलियाले उपाधि उचालेको थियो।
प्रकाशित मितिः २०८० मंसिर १२ मंगलबार
Comments