काठमाडौं । इजरायल-हमास लडाइँमा दुबैपक्षका गरी कम्तिमा १ हजार १ सय मानिसहरूको मृत्यु भएको छ । ‘द न्युयोर्क टाइम्स’का अनुसार प्लालेस्टाइनको इस्लामिस्ट समूह ‘हमास’ले आक्रमण गरेपछिको ३६ घन्टामा १ हजार १ सय जनाको मृत्यु भएको छ ।
तीमध्ये ७ सय इजरायली र ४१३ प्लालेस्टाइनी मारिएको न्यूयोर्क टाइम्सले उल्लेख गरेको छ । शनिबार जमिन, आकाश र समून्द्रबाट हमासले इजरायलमाथि अचानक आक्रमण गरेपछि इजरायल प्रतिकारमा उत्रिएको थियो ।
इजरालयमाथि हमासको आक्रमण ५० वर्षयताकै ठूलो आक्रमण भनिएको छ । इजरायलका प्रधानमन्त्री बेन्यामिन नेतन्याहुले आफूहरू हमासविरूद्ध युद्ध लडिरहेको घोषणा गरेका थिए ।
इजरायली संगीत महोत्सव स्थलमा २६० शव फेला
इजरायली उद्धारकर्मीले संगीत महोत्सव गरिएको ठाउँबाट २ सय ६० जनाको शव निकालेका छन् । संगीत महोत्सवमा हमास लडाकुले आक्रमण गरेका थिए । त्यहाँ आक्रमणपछि मानिसहरू भागाभाग गरेको भिडिओहरू सार्वजनिक भएका छन् । अझै धेरै शव संकलन गर्न बाँकी रहेको उद्धार टोलीले जनाएको छ ।
संगीत महोत्सवमा शुक्रवार राति अबेरसम्म मानिसहरू नाचेर रमाइरहेका थिए । तर, एकाएक त्यहाँ गोली चल्न थालेपछि कोलाहल मच्चिएको थियो । संगीत महोत्सव भएको क्षेत्र गाजासँगको बोर्डर नजिक पर्छ ।
प्रकाशित मितिः २०८० असोज २२ सोमबार
Comments