काठमाडौं । ओडिशा रेल दुर्घटनापछि अबरुद्ध हुन पुगेको रेल सेवा ५१ घन्टा पछि सुचारु भएको छ । बालासोर जिल्लाको बहंगा बजारमा शुक्रबारको भीषण रेल दुर्घटनापछि पूर्वी र दक्षिणी भारतलाई जोड्ने रेल सेवा अवरुद्ध हुन पुगेको थियो।
तर, हिजो राती मुख्य ट्रक लाइनबाट क्षतिग्रस्त रेलका कोचहरू हटाइएको तथा रेल सेवाहरू सुचारु गर्नका लागि दुईवटा ट्र्याकहरू मर्मत गरिएपछि सो बाटो हुँदै जाने रेल सेवा सुचारु भएको हो। आइतबारदेखि एक लाइनको रेल सेवा सञ्चालनमा आएको थियो।
सो भयानक दुर्घटना पछि घटनास्थलमा रहेका रेलमन्त्री अश्विनी वैष्णव आफैँ उपस्थित भएर रेल्वे सेवा सुचारु गराएका थिए। सो दुर्घटनाको ५१ घन्टापछि मालगाडी पास भएपछि रेलमन्त्रीले पहिले भगवानलाई धन्यवाद दिए र त्यसपछि जनतासँग कुरा गर्दै सबैले राम्रो हुँदै जाने बताए।
‘यस दुर्घटनामा ज्यान गुमाएका परिवारहरूप्रति म धेरै दुःखी छु। तर हामी यो घटनाको जरासम्म जान्छौँ। दोषी जोसुकै भए पनि कडा भन्दा कडा कारबाही हुन्छ,’ उनले उपस्थित सञ्चारकर्मीसँग भने,‘रेल पुनः सञ्चालनमा आएकोमा सबैलाई बधाई छ,अब दोस्रो लाइनबाट पनि रेलसेवा चाँडै सुरु गर्नुपर्छ।’
रेलमन्त्री वैष्णवले दुर्घटनाको मूल कारण पत्ता लगाइएको छ र यसको लागि जिम्मेवार व्यक्ति पहिचान गरिएको जनाएका छन। ‘यो दुर्घटना इलेक्ट्रोनिक इन्टरलकिङ र प्वाइन्ट मेसिनमा गरिएको परिवर्तनका कारण भएको हो,’प्रारम्भिक रिर्पोटवारे जानकारी दिँदै उनले पत्रकारहरुसँग भने।
उनका अनुसार सो दुर्घटनाको कारण ‘पोइन्ट मेसिन’ र ‘इलेक्ट्रोनिक इन्टरलकिङ’ प्रणालीसँग सम्बन्धित रहेकाले सोही बिन्दुबाट अनुसन्धान गरिएको छ । गत शुक्रबार राती तीनवटा रेल एक आपसमा ठाेक्किदा २ सय ७५ भन्दा बढीकाे मृत्यु भएकाे थियाे भने ११ सय भन्दा बढी घाइते भएका थियाे। साे दुर्घटना यस दशककै सबैभन्दा ठुलाे दुर्घटना मानिएकाे छ ।एजेन्सी
प्रकाशित मितिः २०८० जेठ २२ सोमबार
Comments