काठमाडौं । युद्धका पनि नियम हुन्छन् । द्वन्द्वका समयमा निर्दोष सर्वसाधारणको हत्या गर्न पाइँदैन । त्यतिमात्र नभएर सर्वसाधारण लुकेर बसेका भवन साथै अस्पताल, विद्यालय आवासीय भवनमा कसैले आक्रमण गर्न पाउँदैनन् । रेडक्रसको अन्तर्राष्ट्रिय कमिटीका अनुसार त्यसो भएमा युद्ध अपराध ठहरिनेछ ।
युद्ध अपराधको नियममा विपक्षी घाइते सेनाको पनि हत्या गर्न पाइँदैन साथै बलात्कार र सामूहिक हत्या भएमा पनि युद्ध अपराध मानिने छ । यी विषय दोस्रो विश्व युद्धपछि भएको सन् १९४९ को जेनेभा महासन्धिमा उल्लेख छ ।
तर, रुस–युद्धेनबीचको युद्धमा रुसी सेनाको पक्षबाट अनगिन्ती युद्ध अपराध भएको घटनाहरू सार्वजनिक भएका छन् । रुसी सेनाहरूले सर्वसाधारणको हत्या, महिलालाई बलात्कार र सामूहिक हत्या गरेको युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको भनाइ छ ।तिमोफी माइकोलायोभिच सादुरा, उनी गत डिसेम्बरमा सेनामा भर्ती भएका थिए ।तिमोफी माइकोलायोभिच सादुरा, उनी गत डिसेम्बरमा सेनामा भर्ती भएका थिए ।
यही हप्ता मात्र भिडियो खिचेरै रुसी भाडाका लडाकुले हतियारविहीन युक्रेनी सेना तिमोफी माइकोलायोभिच सादुराको हत्या गरेको भिडियो सार्वजनिक भएको छ । गत महिनामात्र रोयटर्सले एउटा भिडियो प्राप्त गरेको छ, जहाँ युक्रेनी सर्वसाधारणलाई सामूहिक रूपमा हत्या गरेर पुरिएको भेटिएको छ ।
गत फेब्रुअरी २३ मा युक्रेनी राष्ट्रपति जेलेन्स्कीले रुसको तर्फबाट ७१ हजारभन्दा बढी पटक युद्ध अपराध भएको बताएका थिए । उनले यो सम्पूर्ण घटनाको जिम्मा रुसी राष्ट्रपति भ्लादमिर पुटिनले लिनुपर्ने बताउँदै पुटिनलाई अन्तर्राष्ट्रिय अपराधी करार गरिदिए ।
जेलेन्स्कीका अनुसार युक्रेनको बुचा शहरमा गत वर्ष रुसी सेनाले ४ सयभन्दा बढी सर्वसाधारणलाई मारेर जलाएको तथ्य युक्रेनसँग छ । उनले सामूहिक चिहान भेटिएको बताएका छन् । विद्यालयलाई रुसी सेनाले क्याम्प बनाएको र सयौं महिलामाथि बलात्कार गरेको युक्रेनको आरोप छ ।
उता खेर्सनमा युक्रेनी नागरिक र सेनालाई यातना दिनका २० वटा च्याम्बर खडा गरिएको बताइएको छ । मारिउपोल, भोल्नोभाखा, ओलेनिभ्काजस्ता दर्जनौँ स्थानमा यस्तै तवरबाट युद्ध अपराध भएको जेलेन्स्कीले बताएका छन् ।
रुसी आतंकका पीडितहरूको न्यायका लागि विश्वभरका राष्ट्रले नैतिक र कानुनी जिम्मेवारी लिनुपर्ने र रुसी आक्रमणबाट खतरामा पर्न सक्ने कुनै पनि देशले आफ्नो सुरक्षाका लागि रुसलाई जवाफदेही बनाउनुपर्ने उनको माग छ । जेलेन्स्कीले रुसलाई विश्वभरका मुलुकले एक्ल्याउनुपर्छ भनिरहेका छन् ।
अमेरिकाले मार्च महिनाको सुरुवातमा मात्र आधिकारिक रूपमै रुसले युद्ध अपराध गरेको ठहर गरेको छ । अमेरिका भन्छ, ‘रुसले मानवताविरुद्धको अपराध गरेको छ ।’
प्रकाशित मितिः २०७९ फागुन २५ बिहिबार
Comments