काठमाडौं । टर्की (टुर्किये) मा गत साता सोमवार गएको भूकम्पका कारण भग्नावशेषमा च्यापिएका मानिसको उद्धारकार्य जारी छ । भूकम्पबाट अत्यधिक प्रभावित काहरामानमारासमा मंगलवार बिहानै एक बालक र एक पुरुषको उद्धार गरिएको छ ।
फेब्रुअरी ६ मा आएको भूकम्पको १९८ घन्टापछि उनीहरूलाई जीवितै उद्धार गरिएको हो । काहरामानमारासमै उद्धारकर्ताहरूले एकै परिवारका हजुरआमा, आमा र छोरीको उद्धार गर्ने प्रयास गरिरहेका छन् ।
अहिलेसम्म भूकम्पका कारण टुर्किये र सिरियामा ३७ हजारभन्दा बढी मानिसको मृत्यु भइसकेको छ । तर त्यहाँ कठ्यांग्रिदो जाडोका कारण उद्धारकार्य सुस्त हुँदै गएकाले च्यापिएका मानिसलाई जिउँदै उद्धार गरिने सम्भावना न्यून बनेको बताइएको छ ।
पोल्यान्डबाट आएका केही उद्धारकर्ताहरू बुधवार त्यहाँबाट जाने बताइरहेका छन् । सिरियाको अलेप्पो शहरमा संयुक्त राष्ट्रसंघका सहायता प्रमुख मार्टिन ग्रिफिथ्सले उद्धार चरण अन्त्यतिर पुगेको बताएका छन् । अब आश्रय, खाद्यान्न तथा विद्यालय गमनमा ध्यान केन्द्रित गरिएको उनको भनाइ छ ।
सिरियाका राष्ट्रपति बशर अल–असदले टुर्कियेबाट राष्ट्रसंघको सहायता ल्याउन दिन सहमति जनाएको कूटनीतिकर्मीहरूले बताएका छन् ।
प्रकाशित मितिः २०७९ फागुन ०२ मंगलबार
Comments