काठमाडौं । अमेरिकाले विगत एक वर्षमा चीनको हवाईक्षेत्रमा १० पटकभन्दा बढी बलून पठाएको चीनको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
गत ४ फेब्रुअरीमा अमेरिकाले चीनको जासूसी बलून भनिएको वस्तुलाई आफ्नो हवाईक्षेत्रमा खसाएपछि चीनको यो आरोप आएको हो । चीनले चाहिँ त्यो मौसम निगरानी गर्ने बलून भएको जनाएको छ ।
उक्त प्रकरणपछि दुई देशको सम्बन्ध बिग्रिएको छ । हालैका दिनमा पहिचान नखुलेका अन्य वस्तु पनि खसाएको अमेरिकाले बताएको छ । यस विषयमा सोमवार प्रश्न सोध्दा चीनले अमेरिकामाथि हवाईक्षेत्र उल्लंघनको आरोप लगाएको हो ।
‘अमेरिका गैरकानूनी रूपमा अन्य मुलुकको हवाईक्षेत्रमा पूने गरेको कुनै असाधारण कुरा हैन,’ चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता वाङ वनपिनले नियमित पत्रकार सम्मेलनमा बताए ।
‘विगत एक वर्षमा मात्र अमेरिकी बलूनहरू चीनमाथि अवैध रूपमा १० पटकभन्दा बढी उडेका छन् र तिनले चिनियाँ अधिकारीबाट अनुमति लिएका छैनन् । अमेरिका आफैंले आत्मनिरीक्षण गरेपछि बल्ल चीनलाई बदनाम गर्ने र आरोप लगाउने काम गरे हुन्छ,’ उनले थपे ।
बेइजिङले अमेरिकाको बलून हस्तक्षेपलाई जिम्मेवार र व्यावसायिक ढंगले प्रतिक्रिया दिएको उनले बताए ।
प्रकाशित मितिः २०७९ फागुन ०१ सोमबार
Comments