काठमाडौं । कतारमा जारी फिफा विश्वकप अन्तर्गत आज बिहीबार समूह ‘जी’ तथा ‘एच’ का चार वटा खेलहरु आयोजना हुँदैछन् । आजको पहिलो खेल अपराह्न ३ः४५ बजे स्विट्जरल्यान्ड र क्यानरुनबीच हुनेछ । आज साँझ ६ः४५ बजे दक्षिण अमेरिकी टोली उरुग्वे तथा एसियाली मुलुक दक्षिण कोरिया भिड्नेछन् ।
आज राति ९ः४५ बजे पोर्चुगल र घानाले प्रतिस्पर्धा गर्दैछन् भने राति १२ः४५ बजे ब्राजिललाई सर्वियाले चुनौती प्रस्तुत गर्नेछ । समूह ‘जी’ मा स्विट्जरल्यान्ड, क्यामरुन, ब्राजिल र सर्विया छन् भने समूह ‘एच’ मा उरुग्वे, दक्षिण कोरिया, पोर्चुगल र घाना छन् ।
स्वीजरल्याण्डका प्रशिक्षक मुरत यकिनले आफ्नो टोलीलाई ‘अस्थित्वमा रहेदेखि अहिले सम्मकै उत्कृष्ट’ टोली भएको दाबी गरेका छन्।स्वीस टोलीले विश्वकपमा विगतका चारमध्ये तीनमा अन्तिम १६ चरणमा पुगेको छ तर सन् १९५४ यता क्वार्टरफाइनलमा पुग्न सकेको छैन।
क्यामरुन टोली विश्व वरीयतामा ४३ औं स्थानमा छ, अर्थात स्विस टोलीभन्दा २८ स्थान तल। तर, क्यामरुनका प्रशिक्षक रिगोबर्ट सङ विश्वास छ: उनको टोली अल जानोब स्टेडियममा स्वीजरल्याण्डलाई निरास बनाउन सक्षम छ।
आज हुने दोस्रो खेलमा एसियाली शक्ति राष्ट्र दक्षिण कोरियाले विश्वकपको ट्रफी उचालिसकेको दक्षिण अमेरिकी राष्ट्र उरुग्वेको सामना गर्नेछ। समूह ‘एच’को यो खेल एजुकेसन सिटी स्टेडियममा पौने ७ बजे सुरु हुनेछ।
कोरियाका कप्तान सन ह्युङ मिन अनुहारमा चोटका कारण फेस मास्क लगाएर अभ्यासमा देखिएका थिए। प्रिमियर लिगमा आफूलाई प्रमाणित गरेका सन खेलका लागि फिट भएको प्रशिक्षक पाउलो बेन्टोले बताएका छन्।
तर, विश्वकपमा उरुग्वेसँगको इतिहास कोरियाको राम्रो छैन। विश्वकपमा यसअघिका भेटहरुमा दुई पटक उरुग्वेले जित निकालिसकेको छ। अर्जेन्टिना, मेक्सिको, ब्राजिलसँगै उरुग्वे पछिल्ला ४ विश्वकपमा नकआउट चरण पुग्ने टोली हो। आजको खेलमा जित निकाले कोरिया विश्वकपमा दक्षिण अमेरिकी मुलुकलाई हराउने तेस्रो टोली बन्ने छ। यसअघि जापानले कोलम्बियालाई, साउदी अरेबियाले अर्जेन्टिनालाई विश्वकपमा हराएका छन्।
आजै राति हुने तेस्रो खेलमा पोर्चुगल र घाना भिड्दैछन्। रस अबोउ अबोउड स्टेडियममा बेलुको पौने १० बजे यी दुई टोली आमनेसामने हुनेछन्।
पोर्चुगलका स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डो र म्यानचेस्टर युनाइटेडबीच तनाबको असर टिममा पर्ने आँकलनसमेत गरिएको छ। तर, पोर्चुगिच खेलाडी ब्रुनो फर्नान्डेजले त्यसको केही असर नभएको बताएका छन्।
३७ वर्षे रोनाल्डोले एउटा अन्तर्वार्तामा युनाइटेडको कटु आलोचना गर्दै प्रशिक्षक टेन हागप्रति कुनै सम्मान नहरेको बताएका थिए। योसँगै उनी क्लबबाट बाहिरिने निश्चित भइसकेको छ।
अर्कोतर्फ घाना यो वर्षको सुरुमा अफ्रिकन कप अफ नेसन्समा आफ्नो समूहको पुछारमा रह्यो। तर छनोटमा प्रतिद्वन्द्वी नाइजेरियालाई पराजित गर्दै विश्वकपका लागि छनोट हुने सफल भएको थियो। रोनाल्डोको पछिल्लो घटनाक्रममा विपक्षीलाई खासै फरक नपर्ने आँकलन छ घानाका प्रशिक्षक ओटो एडोको।
भरे राति नै हुने अन्तिम खेलमा ब्राजिल र सर्बिया भिड्दैछन्। ब्राजिलका कप्तान थिएगो सिल्भाले यसपाला नेइमार ‘उत्कृष्ट’ रहेको बताएका छन्। यसअघिका दुई विश्वकपमा नेइमारले चोटका कारण क्षमताअनुसार प्रदर्शन दिन सकेका थिएनन्।
सर्बियासँगको इतिहास हेर्दा ब्राजिल बलियो देखिन्छ। १७ खेलमा सर्वियाले ब्राजिललाई हराउन सकेको छैन।समूह ‘जी’ अन्तर्गत यी दुई टोलीबीचको खेल लुसइल स्टेडियममा राति पौने १ बजे सुरु हुनेछ।
प्रकाशित मितिः २०७९ मंसिर ०८ बिहिबार
Comments