काठमाडौं ।इजरायल र प्यालेस्टाइनको विवादित क्षेत्र वेस्ट ब्यान्कको मसाफर यातामा बस्ने करिब एक हजार २०० प्यालेस्टाइनी नागरिक विस्थापित हुने भएका छन् ।
गत महिना इजरायली सेनाका लागि फायरिङ क्षेत्रको बाटो बनाउने भन्दै अदालतले फैसला गरेपछि प्यालेस्टाइनीहरूलाई त्यहाँबाट जर्बजस्ती हटाउन लागिएको बेलायती समाचार संस्था रोयटर्सले जनाएको छ । उक्त मुद्दा इजरायलको सर्वोच्च अदालतमा एक दशकभन्दा लामो समय चलेको थियो ।
सन् १९६७ मा मध्यपूर्वको युद्धमा इजरायलले प्यालेस्टाइनका भूभाग कब्जा गरेपछि यो नै सबैभन्दा ठुलो विस्थापित घटना हुन पुगेको छ । तर त्यहाँ बस्ने प्यालेस्टाइनीहरू आफ्नो लचिलो व्यवहार र अन्तर्राष्ट्रिय दबाबले इजरायलले विस्थापित गर्नबाट रोक्ने आशा गर्दै बासस्थान छोड्न अस्वीकार गरिरहेका छन् ।
सन् १९८० मा इजरायलले उक्त क्षेत्रलाई ‘फायरिङ जोन ९१८’ भनेर चिनिने सैन्य क्षेत्र घोषणा गरेको थियो । इजरायल–वेस्ट ब्यान्क सीमासम्म फैलिएको ३,००० हेक्टर जमिन प्रशिक्षण उद्देश्यका लागि अत्यधिक महत्वपूर्ण रहेको र त्यहाँ बस्ने प्यालेस्टाइनीहरू मौसमी रूपमा बस्ने अस्थायी बासिन्दा भएको अदालतमातर्क गरिएको थियो ।
दक्षिण हेब्रोन पहाड पर्ने उक्त भागमा रहेका समुदायहरू परम्परागत रूपमा भूमिगत गुफाहरूमा बस्ने गर्दथे । विगत दुई दशकदेखि उनीहरूले जमिनमाथि टिनको छाप्रो र साना कोठाहरू बनाइ बसेका छन् । एजेन्सी
प्रकाशित मितिः २०७९ जेठ २९ आइतबार
Comments