काठमाडौं । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीका एक वरिष्ठ सल्लाहकारले युद्धको अग्रमोर्चामा दैनिक १०० देखि २०० को बीचमा सैनिकले ज्यान गुमाइरहेको बीबीसीलाई बताएका छन्।पूर्वी डोन्बास क्षेत्रमा रुसी फौजको सामना गर्नका निम्ति सयौँ पश्चिमा युद्ध प्रणाली युक्रेनलाई आवश्यक रहेको मिखाइलो पोदोलियाकले बताए।
मस्कोसँग शान्तिवार्ता पुनः सुरु गर्न किएभ तयार नभएको पनि उनले उल्लेख गरे।सिङ्गो डोन्बासमाथि नियन्त्रण गर्ने प्रयासमा रहेका रुसी फौजहरूको निरन्तर बमबारीको युक्रेनी फौजले सामना गर्नु परेको छ।
रुसी फौजहरूले पारमाणविक अस्त्रबाहेक लगभग सबै प्रणालीबाट हमला गरिरहेको पोदोलियाकले बताए। युद्धमा युक्रेनतर्फ धेरै क्षति हुनुका कारण दुई पक्षबीच प्रतिरक्षा गर्ने सामर्थ्य समान नहुनु भन्दै पश्चिमा देशहरूले थप अस्त्र उपलब्ध गराउनु पर्ने युक्रेनको माग उनले दोहोर्याए।
‘हामीले अस्त्र माग गर्नु केवल मागका लागि मात्रै होइन बरु युद्ध मैदानको स्थितिअनुसार तथ्यपरक माग हो’ पोदोलियाकले भने।रुसको सामना गर्न युक्रेनलाई १५० देखि ३०० वटासम्म रकेट प्रणाली चाहिएको उनले बताए। यो सङ्ख्या भनेको अहिलेसम्म युक्रेनले प्राप्त गरिसकेकोभन्दा बढी हो।
गत फेब्रुअरी २४ तारिखमा सुरु गरेको अतिक्रमणयता कब्जा गरेका सबै भूभाग रुसले फिर्ता गरे मात्रै शान्तिवार्ता पुनः शुरू हुन सक्ने पोदोलियाकले स्पष्ट पारे।युद्धको अग्रपङ्क्तिमा दैनिक १०० देखि २०० को बीचमा युक्रेनी सैनिकले ज्यान गुमाइरहेको भन्नु भनेको पहिला अनुमान गरिएको सङ्ख्याभन्दा उच्च हो।
बिहीवार युक्रेनी रक्षामन्त्री ओलेक्सी रेज्निकोभले युद्धमा दैनिक १०० जना सैनिकले ज्यान गुमाइरहेको र ५०० जना घाइते भइरहेको बताएका थिए।फरकफरक सङ्ख्या आउनु भनेको मृत्युबारे युद्ध मैदानबाट यकिन विवरण प्राप्त गर्न कति गाह्रो छ भन्ने कुराको प्रमाण हो।
युक्रेनले ठूलो क्षति बेहोरिरहेको पृष्ठभूमिबीच रेज्निकोभले उच्च सङ्ख्यामा रुसी फौजले पनि क्षति बेहोरिरहेको दाबी गरेका छन्।लुहान्स्कका क्षेत्रीय गभर्नरले पनि रुसी फौजहरू झिँगाझैँ मरिरहेको दाबी गरे। यद्यपि युक्रेनी फौजले अस्त्रहरूको व्यापक अभाव झेलिरहेको पोदोलियाकले जस्तै उनले पनि बताए। बीबीसी
प्रकाशित मितिः २०७९ जेठ २७ शुक्रबार
Comments