काठमाडौं । अस्कर अवार्ड समारोहमा हलिउड अभिनेता–अभिनेत्रीले युक्रेनको समर्थनमा आफ्नो ऐक्यबद्धता प्रस्तुत गरेका छन् ।
युक्रेनमा रुसले गरेको आक्रमणको सन्दर्भमा अस्कर अवार्ड समारोहमा ३० सेकेण्ड मौनधारण गरिएको थियो । यस्तै युक्रेनका लागि सहयोगका लागि अपिल पनि भयो ।
नेपाली समय अनुसार सोमबार बिहान अमेरिकाको लस एन्जलसमा भएको समारोहमा सहभागी हुन आएका विभिन्न कलाकारले युक्रेनको समर्थनमा रिबन समेत लगाएका थिए ।
शरणार्थी सम्बन्धी संयुक्त राष्ट्रसंघीय नियोग (युएनएचसिआर) ले उपलब्ध गराएको निलो रिबन उनीहरुले लगाएका हुन् ।
शरणार्थीप्रति सद्भाव देखाउन निलो रिबन प्रयोग गरिन्छ । गएको फेब्रुअरी २४ देखि रुसले युक्रेनमा गरेको आक्रमणका कारण एक करोड भन्दा बढी युक्रेनी आन्तरिक वा बाह्य रुपमा बिस्थापित भएका छन् । हाल सिर्जना भएको शरणार्थी समस्या यो शताब्दी कै गम्भीर रहेको बताइन्छ ।
रेड कार्पेटमा अभिनेता ज्यासन मोमोया युक्रेनको झण्डाको रंग निलो र पहेँलो रहेको पकेट स्क्वायर लगाएर आएका थिए ।
यस्तै निलो रिबन लगाउनेमा ज्यामी ली कुर्टिस, सामुएल एल ज्याक्सन, डायन वारेन, यु–जुङ योउन, निकोलास ब्रिटेल र पाओलो सारेन्टिनो रहेको भ्यानिटी फेयरले जनाएको छ ।
प्रकाशित मितिः २०७८ चैत १४ सोमबार
Comments