काठमाडौं । माघ तेस्रो सातायता नेपालमा कोभिड–१९ को संक्रमण निरन्तर ओरालो लागेको छ । पछिल्लो संक्रमण दर १.७ प्रतिशतमा झरेको छ । देशभर सक्रिय संक्रमितको संख्या ६ हजार ४६१ छ । तीमध्ये १२३ जना मात्रै अस्पतालमा उपचाररत छन् ।
सबैभन्दा बढी संक्रमित भएको काठमाडौंमा उपत्यकाका तीनमध्ये भक्तपुर रेड जोनमुक्त भइसकेको छ । संक्रमणबाट मृत्यु हुनेको संख्या गत शनिवार शून्य रह्यो । नेपालमा चलिरहेको कोभिड–१९ विरुद्धको खोप अभियानकै कारण संक्रमण दरमा कमी आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । तर, अफ्रिकी देशहरुमा खोप अभियान कम सञ्चालन भएका कारण ति देशहरुबाट कोभिड–१९ को नयाँ–नयाँ भेरियन्टहरु जन्मिन सक्ने भएकाले अझै पनि संक्रमणको जोखिम भने नटरेको जनाएको छ ।
स्वास्थ्य मन्त्रालयका सह–प्रवक्ता डा. समीरकुमार अधिकारी विश्वभरको अवस्था र विगतको दृष्टान्त हेर्दा संक्रमण कम भए पनि अझै संक्रमणको जोखिम कायमै रहेको बताउँछन् । संक्रमण कम हुँदा सावधानी नअपनाउने हो भने नयाँ भेरियन्ट आएको अवस्थामा एकैचोटी संक्रमण बढ्नसक्ने अवस्था रहेको डा. अधिकारीको तर्क छ ।
प्रकाशित मितिः २०७८ फागुन २३ सोमबार
Comments