काठमाडौँ । युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले नागरिकहरुलाई रुसी आक्रमणकारीविरुद्धको अभियान जारी राख्न अपिल गरेका छन्। अहिलेसम्म रुसी सैनिकलाई रोक्नमा सफल भइरहेको भन्दै रक्षात्मक युद्ध कायम राख्न नागरिकसँग आग्रह गरेका हुन्।
शनिबार राति राजधानी किएभबाट भावुक सन्देश दिँदै जेलेन्स्कीले देशको रक्षाका लागि डटेर लड्ने बेला आएको बताएका हुन्।
उनले भनेका छन्, ‘तपाईँहरु बाहिर निस्केर यी राक्षसहरुलाई सहरबाट लखेट्ने बेला आएको छ।’
अमेरिकी राष्ट्रपति जो बाइडेनसँगको टेलिफोन संवादको क्रममा थप लडाकु विमान सहयोग माग गरेका जेलेन्स्कीले नागरिकसँग पनि रक्षात्मक युद्धका लागि आग्रह गरेका हुन्।
अमेरिकी अधिकारीहरु पोल्याण्डका राजनीतिक नेताहरुसँग युक्रेनलाई एमआईजी फाइटर जेटसहितका सुरक्षा सहयोग प्रदान गर्ने सम्भावनाबारे छलफल गरिरहेका छन्।
पोल्याण्ड सोभियत युनियनकालको फाइटर जेटको प्रयोग विस्तारै कम गर्दै लैजाने क्रममा छ। तर अहिले ती जेटहरु युक्रेनलाई प्रदान गर्ने सम्बन्धमा छलफल भइरहेको हो।
युद्ध ११ औँ दिनमा प्रवेश गर्दा युक्रेनका केही स्थानमा आक्रमण स्थिर भएको छ। तर रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले भने आक्रमण ‘योजनाअनुसार नै अघि बढेको’ दाबी गर्दै आएका छन्।
विभिन्न स्थानमा युद्ध जारी रहँदा रुसले अहिलेसम्म युक्रेनको प्रमुख सहर खेर्सनमात्रै आफ्नो कब्जामा लिएको छ। एजेन्सी
प्रकाशित मितिः २०७८ फागुन २२ आइतबार
Comments