काठमाडौं । भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितको सङ्ख्या निकै कम भएको छ । स्रोतका अनुसार पछिल्लो २४ घण्टामा भारतमा छ हजार ८२२ जना नयाँ सङ्क्रमित थपिएका हुन ।
केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले यो सङ्ख्या ५५८ दिनपछिकै सबैभन्दा कम भएको जनाएको छ । भारतमा पछिल्लो समयका सबैभन्दा धेरै सङ्क्रमितहरुको सङ्ख्या केरला राज्यमा देखिदै आएको छ । पछिल्लो थपिएका मध्ये पनि केरलाका मात्रै तीन हजार २७७ जना रहेका छन ।
मन्त्रालयका अनुसार भारतमा अहिले कोरोनाभाइरसबाट सङ्क्रमित अवस्थामै रहेकाहरुको सङ्ख्या ९५ हजार १४ रहेको छ । यो सङ्ख्या पनि ५५४ दिनपछिकै सवैभन्दा कम रहेको मन्त्रालयका अधिकारीहरुको भनाई छ ।
कूल सङ्क्रमित मध्ये एक प्रतिशतभन्दा कम मात्रै अहिले सङ्क्रमित अवस्थामै रहेका हुन् । मन्त्रालयले पछिल्लो एक दिनमा १० हजार चार जना कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भएको जनाएको छ । भारतमा अहिलेसम्म सङ्क्रमणमुक्त भएकाहरुको कुल सङ्ख्या तीन करोड ४० लाख ७९ हजार ६१२ रहेको छ । एजेन्सी
प्रकाशित मितिः २०७८ मंसिर २१ मंगलबार
Comments