काठमाडौं । म्यानमारकी प्रजातन्त्रवादी नेतृ आङ सान सुकीलाई चार वर्षको जेल सजाय सुनाइएको छ । उनीविरुद्ध चलिरहेका कैयौँ मुद्दामा उनले पाएको यो पहिलो सजाय हो ।
उनलाई प्राकृतिक प्रकोप ऐन अन्तर्गत मानिसहरूलाई उक्साउने र कोभिड नियम तोडेको आरोप लगाइएको छ । सुकीविरुद्ध ११ वटा आरोप थिए र उनले ती सबैलाई अस्वीकार गरेकी थिइन् ।
७६ वर्षीया सू की सेनाले कू गर्नुअघि म्यान्मारकी स्टेट काउन्सेलर तथा वस्तुगत नेत्री थिइन् । गत वर्ष भएको आम निर्वाचनमा धाँधलीको आरोपमा सेनाले सत्ता नियन्त्रणमा लिएको थियो । उक्त चुनावमा सुकीको नेशनल लिग फर डेमोक्रेसी (एनएलडी)ले बहुमत ल्याएको थियो।
सेनाले सत्ता हातमा लिएसँगै सुकी नजरबन्दमा थिइन् र उनीमाथि कयौं मुद्दा चलाइएका थिए। उनीमाथि सेनाले भ्रष्टाचार गरेको, गैरकानुनी रूपमा वाकीटकी राखेकोलगायत धेरै आरोप लगाएको छ।
सुकीमाथि लागेका सबै अभियोगमा अदालतले दोषी ठहर्याए उनले आजीवन काराबासको सजाय पाउने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन्। बीबीसी
प्रकाशित मितिः २०७८ मंसिर २० सोमबार
Comments