काठमाडौं । सर्वोच्चको आदेशपछि एकै ठाउँमा आइपुगेका प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव नेपाल पक्षबीचको विवाद झन् चर्कंदै गएको छ । शुक्रबार ओली पक्षले विभिन्न प्रदेश र विभागका संयोजक तोकेपछि नेपाल पक्षले पनि त्यसको काउन्टरमा शनिबार विभाग र प्रदेशका संयोजक तोकेको छ ।
ओली पक्षले आगामी चैत ७ गतेका लागि केन्द्रीय समितिको बैठक राखेको छ । सो बैठकमा वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाल पक्षीय नेताहरूप्रति उपस्थित हुने सम्भावना कम छ ।
अध्यक्ष ओलीले सो दिन बैठकमा अनुपस्थित हुनेलाई कारबाही गर्ने चेतावनी दिएका छन् । अखिल नेपाल महिला संघको केन्द्रीय कमिटीले आयोजना गरेको १११औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसमा सम्बोधन गर्दै उनले बैठकमा नआए पार्टीको विधानअनुसार कारबाही गर्ने चेतावनी दिएका हुन् ।
ओलीले पार्टीको कामलाई अगाडि बढाउन केही नेतालाई जिम्मेवारी दिइएको भन्दै उनले अरु नेताहरु आएपछि सल्लाह गरेर अगाडि बढ्ने बताए । अरुले आफूलाई पार्टीको साधारण सदस्यबाट निकालेको भने पनि आफूले कसैलाई कतैबाट ननिकालेको उनको भनाइ छ ।
प्रकाशित मितिः २०७७ फागुन २९ शनिबार
Comments