काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने माथि छानबिन गर्न संसदीय समिति बनाउनुपर्ने कांग्रेसको माग प्रतिरोधी र स्वार्थ केन्द्रित भएको बताएका छन् ।
एमाले संसदीय दलको बैठकलाई शुक्रबार सम्बोधन गर्दै ओलीले गृहमन्त्री रवि लामिछानेका पछाडि प्रहरी नभएर कांग्रेस लागेको बताए । सहकारीमा समस्या रहेको भन्दै कसरी समस्या समाधान गर्ने भनेर सरकारले कदम चाल्नुपर्ने बताए ।
‘सहकारीको अवस्थामा के छानबिन गर्ने ? वेथिती भएको छ छैन भन्दा छ, लगानीकर्ता डुबाइएको छ कि छैन भन्दा छ ?’ उनले भने, ‘अब रिसर्च के गर्ने ? सरकारले कदम चाल्न पर्यो कसरी समस्या समाधान गर्ने ।’
कांग्रेसले भने जस्तो संसदीय समिति बनाए तत्काल राजीनामा माग्ने ओलीको दाबी छ । ‘हामीले रविजीको राजिनामा मागेका छैनौं भन्नु भएको छ । अहिले समिति बनिसकेपछि मन्त्रीको पदमा बस्न मिल्छ ?’ उनले भने, ‘छानबिन समिति बनाएलगतै राजीनामाको खेल सुरु गर्नु हुन्छ ।’
प्रकाशित मितिः २०८१ बैशाख २८ शुक्रबार
Comments