काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले रूसी सेनामा आबद्ध नेपालीलाई स्वदेश फिर्ता ल्याउन आफूले उच्च स्तरमा कूटनीतिक पहल गर्ने बताएका छन्।
‘रूसी सेनामा आबद्ध नेपालीको जीवन रक्षार्थ अभियान’ का सदस्यहरूसँगको भेटमा प्रधानमन्त्री दाहालले रूसी सेनामा कार्यरत नेपालीको उद्धारका लागि सरकारले उच्च स्तरको पहल गर्ने बताएका हुन्।
युद्ध मैदानमा रहेका नेपालीसँग आफूले फोन संवाद गरेको उल्लेख गर्दै प्रधानमन्त्रीले कूटनीतिक च्यानलबाट उनीहरूको अवस्थाबारे निरन्तर छलफल भइरहेको पनि जानकारी दिए। “उच्च स्तरको कूटनीतिक पहल हुन्छ, म आफैले थप पहल गर्छु,” प्रधानमन्त्री दाहालले भने।
रूसी सेनामा कार्यरत नेपालीका परिवारले युद्धमा रहेका नेपालीलाई स्वदेश फर्काउन माग गर्दै काठमाडौंमा धर्ना दिएका थिए। पछि माग सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गरेसँगै धर्ना स्थगन भएको थियो। सोही प्रतिबद्धता अनुसार आज प्रधानमन्त्री दाहालले रूसी सेनामा आबद्ध नेपालीका परिवार भेटेका हुन्।
प्रकाशित मितिः २०८१ बैशाख २५ मंगलबार
Comments