काठमाडौं । कतारसँग विभिन्न ६ वटा एमओयुमा हस्ताक्षर हुने भएको छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी बसेकै होटल सोल्टीमा द्विपक्षीय सम्झौता र समझदारी पत्रमा हस्ताक्षर हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
परराष्ट्र मन्त्रालयका प्रवक्ता अमृतबहादुर राईका अनुसार कतारसँग ६ वटा एमओयुमा हस्ताक्षर हुनेछ । नेपाल र कतारको सरकारी समाचार एजेन्सी, महान्याधिवक्ताको कार्यालय र इन्स्टिच्युट अफ फरेन अफेयर्ससँग सम्बन्धित विषयमा तालिम र सहयोग आदान प्रदान सम्बन्धी सम्झौतामा हस्ताक्षर हुने कार्यसूची छ ।
यसैगरी शिक्षा र संस्कृति आदान प्रदानसँग सम्बन्धित विषयमा पनि हस्ताक्षर हुनेछ । अन्तर्राष्ट्रिय कानुनको प्रक्रिया पूरा गर्न बाँकी भएकाले हात्ती उपहार दिने सम्झौता भने आज नहुने भएको छ । अन्तर्राष्ट्रिय सन्धि (साइटिस) को प्रक्रिया दुवै पक्षबाट पूरा गर्न बाँकी भएकाले आज सम्झौतामा हस्ताक्षर गर्न नमिल्ने भएको हो ।
यद्यपी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हात्ती उपहार दिने घोषणा आजै गर्नेछन् । नेपालले कतारलाई एक जोडी हात्ती उपहार पठाउन लागेको छ । राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा दुईदिने राजकीय भ्रमणका लागि कतारका राजा भ्रमण दलका सदस्यहरुसहित मंगलबार काठमाडौं आएका थिए ।
उनले मंगलबार साँझ नै राष्ट्रपति पौडेलसँग भेटवार्ता गर्नुका साथै शितल निवासमा आयोजित रात्रिभोजमा सहभागी पनि भएका थिए । कतारका राजा पहिलोपटक नेपाल भ्रमणमा आएको अवसरमा सरकारले मंगलबार देशभर सार्वजनिक बिदा दिएको थियो ।
प्रकाशित मितिः २०८१ बैशाख १२ बुधबार
Comments