काठमाडौं । नेपाली कांग्रेसले गण्डकी प्रदेश अधिवेशन आह्वान गर्नु गैर संवैधानिक भएको बताएको छ ।
बुधवार एक विज्ञप्ति जारी गरी गण्डकी प्रदेश संसदीय दलका नेता तथा निवर्तमान मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले संविधान र विद्यमान कानुनको बेवास्ता गर्दै संसद् अधिवेशन आह्वान गर्नु असंवैधानिक भएको उल्लेख गरेका छन् ।
गण्डकी प्रदेशसभाको अधिवेशन वैशाख ७ गतेका लागि आह्वान गरिएको छ । प्रदेश प्रमुख डिल्लीराज भट्टले ७ गते ३ बजेदेखि प्रदेश अधिवेशन आह्वान गरेका छन् । गत चैत २५ मा मुख्यमन्त्री नियुक्त भएका अधिकारीको नियुक्ति विवादमा रहेको छ ।
बहुमतसहित मुख्यमन्त्रीमा दाबी गर्नेक्रममा सभामुखलाई समेत समावेश गरेको भन्दै उनको नियुक्ति अहिले विवादमा रहेको छ । उनको नियुक्तिको विषयमा सर्वोच्च अदालतले वैशाख १० गते पूर्ण सुनुवाइ गर्ने भन्दै दीर्घकालमा असर पर्ने कुनै निर्णय नगर्न अन्तरिम आदेश दिएको छ ।
प्रकाशित मितिः २०८१ बैशाख ०५ बुधबार
Comments