काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले महालेखा परीक्षकको प्रतिवेदनमा हरेक वर्ष बेरुजु बढ्दै जानु दुःखद् पक्ष भएको बताएका छन् । अख्तियार दुरुपयोग अनुसन्धानका आयोगको ३३ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई आइतबार सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले हरेक वर्ष महालेखा परीक्षकको प्रतिवेदनमा किटानका साथ सरकारी ढुकुटी र बजेट कार्यक्रमको दुरुपयोगसम्बन्धी विषयहरू प्रकाशित भएको भन्दै यस खालका विचलनलाई समयमा नै नियन्त्रण गर्न राज्य संयन्त्र सतर्क हुनुपर्ने बताए । उनले आयोगले आफ्नो कार्यसम्पादन र भ्रष्टाचारका उपर अनुसन्धान र छानबिन गर्ने क्रममा साना प्रकृतिका कसुरदारका मात्र नभइ, ठुला प्रकृतिका कसुरदारको पहिचान गर्न र जतिसुकै ठूला व्यक्ति भएपनि उनीहरूलाई कानुनको दायरामा ल्याउन पछि पर्नुहुन्न भन्ने आम नागरिकको मत ध्यानमा राख्न सुझाव दिए ।
राष्ट्रपति पाैडेलले अख्तियारले अनुसन्धान र मुद्दा दायर गर्दा आग्रह, पूर्वाग्रह रहित भएको सन्देश प्रवाह हुनुपर्ने बताए । उनले मुलुकको नीति, कानून निर्माण विकास व्यवस्थापन र नागरिकहरुको आधारभुत सेवा प्रवाहमा संलग्न अधिकार प्राप्त अधिकारीहरुलाई प्रचलित नीति र कानुन बमोजिम निर्धक्कसाथ विवेकशील निर्णय र कार्य सम्पादन गर्न अनुकुल वातावरणको सिर्जना गर्नुपर्नेमा जाेड दिए ।
राष्ट्रपति पौडेलले भ्रष्टाचार नियन्त्रणका हकमा संस्थागत सुदृढिकरणका लागि संवैधानिक आयोगले राज्यका अन्य अंगहरूलाई बेलाबखत परामर्श तथा सुझाव दिइरहनुपर्ने पनि बताए ।
प्रकाशित मितिः २०८० माघ २८ आइतबार
Comments