काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आजदेखि झापाबाट ‘संवाद यात्रा’ निस्किएका छन् । हुलाकी राजमार्ग वरपरका क्षेत्रमा ‘संवाद यात्रा’ गर्ने पूर्व निर्धारित कार्यक्रमअनुसार थापाले आजदेखि भद्रपुरको मेची पुलबाट यात्रा थालनी गरेका हुन् ।
अभियानको पहिलो दिनमा गगन थापाकासँगै अर्का महामन्त्री विश्वप्रकाश शर्मा, नेताहरु कृष्णप्रसाद सिटौला, प्रदीप पौडेललगायत सहभागी भएका छन् । जनताका गुनासा र सुझाव सुन्न तथा पार्टीका कार्यकर्ताहरूसँग साक्षात्कार गर्न महामन्त्री थापाले पूर्वमा मेचीदेखि पश्चिमको महाकालीसम्म यात्रा गर्न लागेका हुन् । पार्टीले घोषणा गरेको ‘समुदायमा कांग्रेस’ अभियानको क्रममा उनले आफू पूर्व–पश्चिम यात्रामा निस्किन लागेको बताएका छन् ।
पूर्वको झापादेखि पश्चिमको कञ्चनपुरसम्म महामन्त्री थापाले हुलाकी राजमार्ग वरपर भएर यात्रा गर्न लागेका छन् । महामन्त्री थापाले समुदायमा कांग्रेस अभियानका क्रममा हुने कार्यक्रमहरूमा सहभागी भएर जनताका कुरा सुन्ने बताएका छन् । एक जिल्लामा कम्तीमा ५ वटा कार्यक्रममा सहभागी हुने र सकेसम्म धेरै सर्वसाधारणका कुरा सुन्ने उनको तयारी छ ।
महामन्त्री थापाले यात्राका क्रममा झापादेखि मोरङ, सुनसरी, सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, चितवन, नवलपुर, नवलपरासी, रुपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुरसम्म पुग्ने कार्यक्रम रहेको छ । संवाद यात्रा माघ २६ गते सकिनेछ ।
प्रकाशित मितिः २०८० माघ १३ शनिबार
Comments